पर्वत-पर्वतमा संचालित आधारभूत व्युटिसियन तालिम र उद्यमशीलता विकास तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय पर्वतको आयोजनामा भाद्र ९ गतेदेखि सुरु भएको ७८ दिने व्युटिसियन तथा १० दिने उद्यमशिलता तालिम आज कुश्मामा समापन गरिएको हो । सोही कार्यक्रमका अवसरमा दलित, विपन्न तथा परम्परागत सीप भएका विभिन्न उद्यमीहरुलाई प्रविधि हस्तान्तरण र अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर बोहराले सिकेको सीप व्यबहारमा कार्यान्वयन गर्दै उद्यमशिलता र आयआर्जनमा जोड दिन तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उद्यमीहरुको सहजताका लागि घरेलु तथा साना उद्योग कार्यालयको ठाउँमा प्रदेशका ११ वटै जिल्लामा उद्योग तथा पर्यटन कार्यालय स्थापना भएको बताउदै उद्योग, व्यवसाय प्रवर्द्धनका लागि कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी रहेको उहाँले बताउनुभयो । आर्थिक बर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार दलित,विपन्न तथा परम्परागत सीप भएका १५ जना उद्यमीहरुलाई विभिन्न मेसिनहरु हस्तान्तरण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।
५ लाखको लागतमा १३ वटा सिलाइमेसिन,एउटा ढाकाको तान र आरन व्यवसायीलाई एउटा वल्डिङ डिलिङ मेसिन प्रदान गरिएको छ । ९० प्रतिशत कार्यालयको सहयोग र १० प्रतिशत उद्यमीहरुको लगानीमा उक्त प्रविधि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । साथै सोही कार्यक्रममा उद्योग तथा पर्यटन कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक बर्षको ५ बर्षमै ६४ प्रतिशत कार्य सम्पादन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । कार्यविधि,मापदण्ड र नीति नियम अनुसार कार्य सम्पादनमा जोड दिएको उहाँको भनाइ छ । कार्यालयले प्रविधि सहयोग गरेकोमा खुसी व्यक्त गर्दै कार्यमा सहज हुने आशीर्वाद टेलरिङ्ग सेन्टर पैंयु गाउँपालिका-५, हुवासका केशौ परियारले बताउनुभयो । विगतमा ३ पटक सम्म आवेदन दिएर छनोट नभएपनि यसपालि आफू छनोट भएर सिलाइ मेसिन प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै मेसिनको सहि सदुपयोग गर्ने उहाँले बताउनुभयो । तालिम अत्यन्त उपयोगी र फलदायी रहेको बताउदै व्यवसाय संचालनमा प्रेरणा र आत्मविश्वास बढेको तालिमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा,पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेल र तालिमका प्रशिक्षार्थी बिष्णु गिरी लगायतले बोल्नुभएको थियो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले गर्नुभएको थियोे ।