पर्वत-साविक धौलागिरि अञ्चलका तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको अन्तर जिल्ला सुरक्षा समन्वय वैठक कुश्मामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रवार सम्पन्न वैठकले विभिन्न महत्वपुणर् विषयमा छलफल तथा निणर्यहरु गरेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको संयोजकत्वमा सम्पन्न वैठकमा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना सहित तीनै जिल्लाका प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । वैठकले अन्तर जिल्ला सूचना आदानप्रदान, विपद व्यवस्थापन, विकास निर्माणका कामहरुका अवस्था, प्राकृतिक श्रोत साधनको उपयोग, उत्खनन् तथा नियन्त्रण र अपराध नियन्त्रण लगायतका विषयमा छलफल गरिएको पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । वैठकले प्राकृतिक साधनको अवैध उत्खनन् कार्यलाई नियन्त्रण गर्न आ-आफ्ना जिल्लावाट पहल गर्ने निणर्य समेत गरिएको छ। कानून विपरितका कुनैपनि कार्य यस क्षेत्रमा हुन नदिनका लागि तीनै जिल्लाका सुरक्षा निकायवीच आवश्यक समन्वय र सहकार्य गर्ने निणर्य समेत वैठकले गरेको सहायक प्रजिअ पौडेलले जानकारी दिनुभयो । अन्तर जिल्ला सुरक्षा समन्वय वैठक हरेक वर्षको दुई पटक हुँदै आएको छ । फरक फरक समयमा फरक फरक जिल्लाको समन्वयमा वैठक आव्हान गरि विभिन्न गतिविधिहरुको विषयमा समिक्षा समेत गर्ने गरिएको छ ।