पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं. ३ माइनडाडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी जीपका चालक पर्वतको जलजला गाउँपालिका-२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिए । राउतका अनुसार मृतक नेपाली जिपका चालक रहेको बताईएको छ । गम्भिर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिस नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा रिफर गरिएको छ । प्रहरीका अनुसार वर्ष १५ की सपना परियार, २० वर्षीया प्रियंका बोहोरा, ४० वर्षीया माया दमाई, १३ वर्षीया यसोदा परियार, २३ वर्षीय रोजनसिंह रोदन, १० वर्षीय नविन वर्देवा, १२ वर्षीय सन्देश रत्न र १४ वर्षीय अजित परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन् । जिप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक राउतले जानकारी दिए ।