पर्वत – आर्थिक अभाव लगायतका कारणले लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका ७५ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको छ । दुई दिन सम्म पर्वत अस्पातालमा सम्पन्न शिविरमा ७५ जना बृद्धबृद्धा, तथा विपन्न समुदायका नागरिकहरुको शल्यक्रिया गरिएको हो । पर्वतमा सक्रिय लायन्स क्लव अफ पर्वत भूमेकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखरा, पर्वत अस्पताल कुश्मा र लायन्स आँखा उपचार केन्द्र कुश्माको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । गत मंसिर १६ गते देखी १८ गते सम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चान गरी मोतियाविन्दुका विरामीको पहिचान गरिएको थियो । कुश्मा र फलेवास नगरपालिकाका विभिन्न वडामा गरिएको परिक्षणबाट पहिचान भएका मोतियाबिन्दुका बिरामीको पर्वत अस्पतालमा ल्याएर शल्यक्रिया गरिएको हो । यस अघि ग्रामीण क्षेत्रमा हुने यस्ता शिविरमा मोतियाबिन्दु देखिएपनि शल्यक्रियाका लागि पोखरानै जानुपर्ने अवस्था थियो । ठुलो संख्यामा सल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएपछि जिल्लामै शिविर आयोजना गरिउको लायन्स क्लव अफ पर्वत भुमेकोटका अध्यक्ष ज्ञानेद्रकुमार जोशीले जानकारी दिनुभयो । पहिचान भएका ८५ जना वृद्धवृद्धालाई सिफारिस शल्यक्रियाका लागि गरिए पनि कसै—कसैमा प्रेसर, सुगर बढी भएकाले ७५ जनाको मात्र शल्यक्रिया गरिएको जोशीले बताउनुभयो । क्लवले ग्रामीण क्षेत्रमा तीन दिनसम्म संचालन गरेका शिविरमा १४ सय भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । विना शुल्क आँखा परिक्षण गरेर शल्यक्रिया गर्न पाउँदा बृद्धबृद्धाहरु दंग देखिएका थिए । लामो समयदेखिको समस्या हल भएर उज्यालो संसार देख्न पाएको भन्दै बृद्धबृद्धाहरुले क्लवलाई धन्यवाद समेत दिएका थिए ।