पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा आगालागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयमा रहेका सामाग्री जलेर पुणर् रुपमा नष्ट भएका छन् । मंसिर २१ गते साँझ बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं आर्थरडाँडाखर्कका वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो । मंसिर २१ गते विद्यालय खुलेको दिन सामान्य अवस्थामा रहेको भएपनि आइतवार विहान विद्यालय खुल्दा आगालागी भएको पाईएको हो । मंसिर २२, २३ र २४ गते भने विद्यालयमा बिदा रहेको थियो । मंसिर २१ गते साँझ केहि घरमा हाईभोल्टेज आएर बिजुलीका वल्वहरु फुटेको हुनाले विद्यालयमा पनि विद्युत सर्ट भएको अनुमान गरिएको रिमालले बताउनुभयो । रिमालका अनुसार विद्यालयको कार्यलयमा रहेका सम्पूणर् पुराना अभिलेखहरु, महत्वपुणर् कागजात, दराज, कम्प्युटर, ल्यापटप, विद्युतीय हाजिरी मेसिन लगायत करिव रु.२० लाख बराबरको सामानको क्षति भएको छ । रातीको समयमा भएकाले मानविय दुर्घटना भने हुन नपाएको हो ।
घटनाको बारेमा ठुलीपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक सोम बहादुर थापा नेतृत्वको टोलि आएर स्थलगत अनुगमन र क्षतीको विवरण संकलन गरेको छ । क्षतिको प्रारम्भिक विवरण हेर्दा रु २० लाखको क्षति पुगेको अनुमान गरिएको गरिएको छ । भौतीक क्षति भन्दा पनि विद्यालय स्थापना कालदेखि अहिलेसम्मका अभिलेखहरु पुरै नष्ट भएका छन् । कार्यालयको पुर्ननिर्माण तथा मर्मतका लागि विद्यालयले कुश्मा नगरपालिका शिक्षा तथा युवा शाखा, जिल्ला प्रशासन कार्यलय लगायत सम्बन्धित सबै स्थानमा अपिल गरिएको विद्यालयका प्रद्यानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो । गरिब तथा विपन्न परिवारले अध्ययन गर्ने सामुदायिक विद्यालयमा यति ठुलो क्षति पुगेपछि शिक्षक तथा विद्यार्थी चिन्तित बनेका छन् । विद्यालयले आगालागीबाट ठूलो सम्पत्ति र अत्यावश्यक कागजात जलेर नष्ट भएकोले भौतिक अवस्था सुधारका लागि सवैलाई सहयोगका लागि आग्रह समेत गरेको छ ।