पर्वत- पर्वतको जलजला र मोदी गाउँपालिकाको केन्द्रमा आज नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा मोदी र जलजला गाउँपालिकाको केन्द्रमा नमुना मतदान भएको थियो । मोदीमा ६८ जनाले मतदान गरेका थिए भने जलजलामा ५३ जनाले नमुना मतदान गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकरी दिनुभयो । ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको हो,’ उहाँले भन्नुभयो । मतदानमा स्थानीयवासिन्दा, विद्यार्थी, कृषक, बृद्धबृद्धा र कर्मचारीहरुले नमुना मतदानमा भाग लिएका थिए । मंसिर ४ गते हुने चुनावमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ । मतदानमा सहभागी भएका सर्वसधारणले संघ र प्रदेशको प्रत्यक्षतर्फ मतदान गर्न सहज भएपनि धेरै चुनाव चिन्ह भएको समानुपातिकको मतपत्रमा अलमलिएको बताएका थिए । निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अन्तरगत पर्वतका सातैवटा पालिकामा नमुना मतदान गर्ने कार्यक्रम रहेको छ । मतदाता शिक्षाका लागि पर्वतमा ६१ वटै वडामा स्वयंसेवक समेत परिचालन गरिएको छ । राजनीतिक दल र उमेद्वारहरुले पनि मतदाता शिक्षालाई केन्द्रित गरेर कार्यकर्ता परिचालन गरेको जनाएका छन् । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको पर्वतमा निर्वाचित हुने तीन पदका लागि २८ जना उमेद्वार प्रतिस्पर्धामा छन् । पर्वतमा १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेका छन् यसैबीच जिल्ला निर्वाचन कार्यालय पर्वतले कर्मचारी व्यवस्थापन समेत गरिसकेको छ । जिल्लाका ७४ मतदान स्थलमा रहने १ सय ४८ मतदान केन्द्रका लागि १ हजार १ सय ८४ जना कर्मचारी नियुक्त गरेर परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।