पर्वत – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले पर्वतमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा केन्द्रीय सदस्य तथा पर्वतका सहइन्चार्ज पदम गिरीलाई उम्मदवारको रुपमा अघि सारेको छ । उहाँ अघिल्लो निर्वाचनमा काँग्रेसका अर्जुनप्रसाद जोशीलाई पछि पार्दै भारी मतले बिजयी हुनुभएको थियो । त्यसैगरी प्रदेश सभा क तर्फ एमाले प्रदेश कमिटि सचिवालय सदस्य तथा त्यागी नेता भक्त कुँवरले टिकट पाउनुभएको छ । भने प्रदेश ख तर्फ एमाले प्रदेश कमिटि सचिवालय सदस्य मित्रलाल बस्याललाई उम्मेदवार बनाईएको एमाले पर्वतले जनाएको छ । पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आउनुभएका कुँवर र बस्यालले टिकट पाएपछि एमालेका सवै नेता कार्यकर्ताहरुले सहि मुल्यांकन भएको प्रतिकृया समेत दिएका छन् । यसले तीनवटै सिटमा एमालेको जीत सुनिश्चित भएको उनिहरुको आँकलन छ । यसैबीच सत्ता गठवन्धन दलले पनि भागवण्डा तथा उम्मेदवार टुंगो लगाएका छन् । भागवण्डा अनुसार पर्वतवाट प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेसलाई, प्रदेश सभा क मा माओवादी केन्द्र र ख मा नेपाली काँग्रेसले उम्मेदवारी पाउने भएका छन् । गठवन्धनवाट प्रतिनिधि सभा सदस्यमा अर्जुनप्रसाद जोशी उम्मेदवार बन्नुभएको छ । उहाँ गत निर्वाचनमा एमालेका पदम गिरीसँग पराजित हुनुभएको थियो भने त्यस अघि लगातार तीनवटा निर्वाचनमा बिजयी हुनुभएको थियो । त्यसैगरी प्रदेश क मा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदीप कुँवर उम्मेदवार बन्नुभएको छ भने प्रदेश ख मा काँग्रेस नेता ऋषिकेश तिवारी उम्मेदवार बन्नुभएको छ । क्षेत्र ख को उम्मेदवारी आज विहान मात्र टुंगिएको हो । अघिल्लो निर्वाचनका प्रतिस्पर्धि गिरी र जोशी यसपटक पनि आमने सामने हुने भएका हुन् । भने प्रदेश तर्फका उम्मेदवार सवै नयाँ अनुहार हुन् । दुवै तर्फका उम्मेदवारले आज हुने मनोनयनको तयारीलाई तीब्र बनाएका छन् ।