प्रमुख समाचार

पर्वतको विहादी गाउँपालिकाद्धारा योजना सम्झौता गर्न ताकेता

By लोकतन्त्र अनलाईन

December 07, 2022

पर्वत- पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको छ । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको हो । चालु आर्थिक वर्ष २०७९/ ८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार वडा तहमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता तथा खाता सञ्चालन गर्नको लागि ताकेता गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि भुसालले जानकारी दिनुभयो ।

एक हप्ता भित्र आवश्यक कागजातहरु सहित सम्झौताका लागि कार्यालयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपस्थित हुन समेत पालिकाले आग्रह गरेको छ । समयमै सम्झौता भएर काम शुरु नगरे बजेट फ्रिज हुने र योजनाहरुको पारदर्शिता तथा गुणस्तरीय समेत नहुने भएकाले पालिकाले ताकेता गरेको उहाँको भनाई छ । उहाँका अनुसार योजना सम्झौताका लागि आउँदा उपभोक्ता समितिको निणर्यको प्रतिलिपी, वडा कार्यालयको सिफारिस पत्र, पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बैंक खाता खोल्ने पदाधिकारीहरुको विवरण, निर्माण उपभोक्ता समितिको छाप लगायत ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा बिनीयोजित बजेटको सहि कार्यान्वयन र नागरिकका आवश्यकता र चाहाना पुरा गर्नका लागि गाउँपालिका सक्रिय रहेको उपाध्यक्ष मिना शर्मा तिवारीले बताउनुभयो ।