प्रमुख समाचार

पर्वतका करदातालाई कर सम्वन्धि प्रशिक्षण तथा अन्तरक्रिया

By लोकतन्त्र अनलाईन

August 04, 2022

पर्वत- आन्तरिक राजश्व कार्यालय बागलुङ, करदाता सेवा कार्यालय पर्वतको आयोजना र पर्वत उद्योग बाणिज्य संघको आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा रहेका उद्योगी,व्यावसायी लगायत सवैखालका करदाताहरुलाई चालु आर्थिक वर्षमा जारी गरिएको राजश्व सम्वन्धि निति, नियम, तथा कर भुक्तानीमा गरिएका विभिन्न व्यवस्थाका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख शालिग्राम आचार्यले राजश्व तिर्नु नागरिकको दायित्व भएको बताउँदै आफुले जुनसुकै पेशा व्यावसायवाट गरिएको आम्दानीलाई बैद्य बनाउनका लागि तोकिएको दरमा नियमित राजश्व भुक्तानी गर्नुपर्ने बताउनुभयो । उहाँले कर छलि गर्नु भनेको गैरजिम्मेवारी पना भएको बताउँदै जसले समयमै राजश्व भुक्तानी गर्दैन वा नियमित रुपमा व्यापार व्यावसाय वा अन्य आम्दानीको अभिलेख राख्दैन त्यस्ता नागरिक, उद्योगी तथा व्यावसायी भविष्यमा ठुलो जोखिममा पर्ने बताउनुभयो । उहाँले नागरिकहरुलाई सर्वसुलभ रुपमा राजश्व भुक्तानी गर्ने र आफ्नो व्यापार व्यावसाय अद्यावधिक गर्नका लागि कार्यालय निरन्तर रुपमा सक्रिय रहेको बताउनुभयो । विगतमा पर्वतका करदातालाई पोखरा र बागलुङ जानुपर्ने बाध्यता पर्वतमै करदाता सेवा कार्यालय खुलेपछि सहज भएको बताउँदै समयमै कर बुझाएर जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । कार्यक्रममा कर अधिकृत शिव ढुंगानाले करका दायरा, छुट, मिनाहा, जरिवाना लगायतका बारेमा जानकारी गराउनुभएको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष ठाकुरवि पौडेल र संचालन महासचिब रमेश लामिछानेले गर्नुभएको थियो ।