पर्वत – नेपालकै अग्ला र लामा पुल तथा शाहसिक पर्यटकीय पूर्वाधारले ख्याती कमाउँदै गएको पर्वतमा गत आर्थिक वर्ष ०७८/०७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठुला खोलाहरुमा ती पुल निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीहरुको दैनिकी सहज बनेको छ । खासगरी वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको पाईएको छ । पर्वतका चार पालिकामा गरी १४ वटा पुल निर्माण भएका हुन् । कुश्मा नगरपालिका भित्र ३, मोदीमा २, महाशिलामा २, विहादीमा १ र पैंयु गाउँपालिकामा ६ वटा पुल निर्माण भएका हुन् । गत आर्थिक वर्षमा निर्माण भएका पुलहरुमा कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट स्थित खहरे खोला झोलुङ्गे पुल, कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीमा चिन्नेखोला झोलुङ्गे पुल, कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा बडहरेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । त्यसैगरी मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा भुरुङदीखोला लांघाली झोलुङ्गे पुल र वडा नं. ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । यसैगरी महाशिला गाउँ पालिका वडा नं. ५ लुंखुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ भने वडा नं. ३ वालाकोटमा गंगाधर गुफा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पुल निर्माणकर्ता संस्था खुर्कोट युवा क्लवले जनाएको छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ यसैगरी विहादी गाउँपालिका वडा नं. ६ शालिग्राममा सेतीवेनी स्टील ट्रस निर्माण गरिएको छ । यता पैंयु गाउँपालिका वडा ५ मा डुडेघाट झोलुङ्गे पुल, वडा नं. ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैंयु वडा नं. ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं. ७ मा अर्थुन-बेउलीवास झोलुङ्गे पुल, वडा नं. ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । त्यसैगरी घाङ्गरे झोलङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको क्लवले जनाएको छ । निर्माण भएका झोलुङ्गे पुलहरु ८ वटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लवको सहजीकरणमा निर्माण भएका हुन् । निर्माण सम्पन्न भएका १४ वटा झोलुङ्गे पुल श्रमदान सहित रु. ४ करोड ८१ लाख ८ हजार ३ सय ५५ रुपैयाको लागनीमा सम्पन्न भएको खुर्कोट युवा क्लवका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिले रु.९ लाख ६२ हजार रुपैया बराबरको श्रमदान गरेका छन् । खुर्कोट युवा क्लव र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका हुन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्वन्धित स्थानीय तहको १३ प्रतिशत र २ प्रतिशत श्रमदानमा पुल निर्माण भएको शर्माले जानकारी दिए ।