प्रमुख समाचार

मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन

By लोकतन्त्र अनलाईन

August 31, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बिते पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका शीर्ष नेताले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि मन्त्रालयको भागबन्डा मिलाउन नेताहरुलाई नै सकस भइरहेको छ ।

मन्त्रालय भागबन्डाका लागि आज पनि सत्ता गठबन्धनका शीर्ष नेता असफल भएका छन् । सरकारलाई चाँडै पूर्णता दिने प्रतिवद्धतासहित बैठकमा जुटेका नेताबीच मन्त्रालय बाडफाँडमा कुरा नमिल्दा बैठक निष्कर्षबिहीन भएको हो ।

गठबन्धनमा आबद्ध दलले शक्तिशाली भनिएका मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने दावी गरेपछि आजको बैठक निष्कर्षबिहीन भएको हो ।

आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका अध्यक्षबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा मतभेद देखिएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार बैठकमा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिनु पर्ने माग गरेका छन् ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले माग गरेकै दुई मन्त्रालयमध्ये एक आफूहरूलाई पर्नुपर्ने माग गरेका छन् ।

यादवले शक्ति सन्तुलन मिलाउन पनि दुवै मन्त्रालयल समाजवादीलाई दिन नहुने तर्क गरेपछि नेता नेपालले असहमति जनाएका थिए ।

कांग्रेसले प्रधानमन्त्रीसहित दुई मन्त्रालय लिइसकेको छ। माओवादीले पनि दुई मन्त्रालय लिइसकेको छ। अब कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषयको छिनोफानो गर्न पनि सत्ता गठबन्धनका नेताहरु असफल भइरहेका छन्।