पत्र-पत्रिका

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

By लोकतन्त्र अनलाईन

November 26, 2021

चितवन – एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्‍यालीसहित नारायणी किनारमा बनाइएको कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट निस्किएका र्‍यालीहरू एकसाथ कार्यक्रमस्थलमा प्रवेश गर्ने तयारी भएको छ ।

मूल व्यवस्थापन समितिका सहसंयोजक पाण्डेले सुरक्षा व्यवस्थालगायत तयारी पनि सम्पन्न भएको बताए । सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संख्यासमेत बढाइएको छ । जिल्ला प्रहरी र केन्द्रबाट एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिनेछ । गण्डकी र बागमती प्रदेशका डिआइजीहरू सुरक्षा व्यवस्थाका लागि चितवनमा नै खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू चितवनमा खटिएको केन्द्रीय महाधिवेशन व्यवस्थापन समिति सहसंयोजक पाण्डेले बताए ।

महाधिवेशनका लागि आउने सवारीसाधनको सहजताका लागि अन्य ठूला गाडीलाई ५ बजेसम्म रोक्ने व्यवस्था गरिएको छ । त्यसको समन्वय गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ । चितवन पुगेका सहभागीका सवारीसाधन पार्किङका लागि १३ वटा स्थानमा व्यवस्था गरिएको छ । ठाउँ–ठाउँमा गाडी बिग्रिएको खण्डमा व्यवस्थापन गर्न क्रेनको व्यवस्थासमेत गरिएको छ । सहभागीको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर दमकल, एम्बुलेन्सको व्यवस्था गरिएको छ । नजिकै नदी भएकाले हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर उद्धारका लागि मोटरबोटहरू तयारी हालतमा राखिएका छन् ।

अतिथि को–को आउँदैछन् ? उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा सभागी हुने छैनन् । उनले पार्टीका अरू नै नेतालाई पठाउने भने पनि को आउने भन्ने निश्चित भएको छैन । त्यसबाहेक जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।

पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा रकम खर्च गरेर महाधिवेशन गर्न लागेका छौँ । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

त्यस्तै, भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न १५ देशका विदेशी अतिथि महाधिवेशनमा शुभकामना दिनका लागि आइपुगेका छन् । अन्य २५ देशबाट शुभकामना सन्देश आइपुगेको एमालेले जनाएको छ । विदेशी अतिथिले खुलासत्रमा आसनग्रहण मात्र गर्ने र बन्दसत्र सुरु भएपछि ११ मंसिर बिहान शुभकामना दिने कार्यसूची बनाइएको छ । कोभिडका कारण चिनियाँहरूले विदेश भ्रमण नगरेकाले चिनियाँ कम्युनिस्ट पार्टीले भने भिडियो सन्देश पठाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

सौराहामा बन्दसत्र नारायणी नदी किनारमा शुक्रबार उद्घाटनसत्र सम्पन्न भएपछि दोस्रो दिन शनिबारदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सहभागी हुने प्रतिनिधि, पर्यवेक्षक, अतिथिलगायतको खाना र आवासको सम्पूर्ण खर्च पार्टीले नै बेहोर्ने भएको छ । त्यसका लागि एमालेले साढे सात करोड खर्च हुने अनुमान गरेको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले कसैसँग पनि चन्दा नमागेर पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा उक्त रकम खर्च गरेर महाधिवेशन गर्न लागेको बताए । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुने भट्टराईको भनाइ छ । शुक्रबार साँझ नै प्रतिनिधिको परिचयपत्र वितरण गरेर शनिबार बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुनेछ । त्यसका लागि ११ सदस्यीय अध्यक्षमण्डल र माइन्युट कमिटी समेत पार्टी स्थायी कमिटीले बनाइसकेको छ ।

बन्दसत्रलाई पार्टी अध्यक्षसँगै विदेशी पाहुनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ । शनिबार साँझ ६ बजेसम्म उम्मेदवारी दाबी, फिर्तालगायत सम्पूर्ण प्रक्रिया सकेर उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिएको छ । आइतबार बिहान ८ बजेबाट विद्युतीय मतदान मेसिनबाट मतदान हुनेछ । त्यसका लागि सयवटा विद्युतीय मतदान मेसिन ल्याइएको छ । भट्टराईका अनुसार आइतबार साँझसम्म मतपरिणमा सार्वजनिक गर्ने र सोमबार बिहान महाधिवेशनको सम्पूर्ण परिणामबारे चितवन घोषणा सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।

७२ कलाकार एकैपटक नाच्न मिल्ने मञ्च

अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको व्यवस्थापनमा संलग्न एमाले नेता विनोद श्रेष्ठको भनाइ छ ।

विशाल मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ । साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ ।

महाधिवेशनका लागि एमालेले चितवनका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ भने सडकका दुवै किनारमा ब्यानर र झन्डाहरूले सजाएको छ । चितवनमा मात्र ५० ठाउँमा स्वागतद्वार बनाइएका छन् । उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ ।

नयाँ पत्रिका दैनिकबाट