प्रमुख समाचार

कोरोना संक्रमण बढेपछि पर्वत अस्पतालका सेवा बन्द

By लोकतन्त्र अनलाईन

April 26, 2021

पर्वत –  कोरोना संक्रमण दर बढेपछि पर्वत अस्पतालका सेवाहरु बन्द गरिएको छ । आइतवार पर्वत अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज (सोमवार) देखि सेवाहरु बन्द गरिएको हो । ९ जनाको परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसुति सेवा बाहेक अन्य सवै सेवाहरु बन्द गरिएको अस्पतालका प्रमुख ढुण्डिराज पौडेलले जानकारी दिए । अत्यावश्यक सेवा र प्रसुति सेवालाई तत्कालका लागि निरन्तरता दिने गरी थप संक्रमण नफैलियोस् भनेर अन्य उपचार सेवाहरु बन्द गरिएको छ । ओपिडि, दन्त, एक्सरे, ल्याव लगायतका सवै सेवा तत्कालका लागि बन्द गरिएको पौडेलले जानकारी दिए । पर्वत अस्पतालमा आइतवार विहान एकजना संक्रमितको मृत्यु भएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङका ७९ वर्षिय बृद्धको संक्रमणका कारण ज्यान गएको हो । त्यसपछि गरिएको परिक्षणमा स्वास्थ्यकर्मी र कर्मचारीमा समेत संक्रमण देखिएपछि सुरक्षा सावधानी अपनाउन सेवा बन्द गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । सकेसम्म घरमै बस्न र अस्पताल आउनै परेमा मात्र आउन उनले आग्रह गरेका छन् । यता सदरमुकाम कुश्माबजारमा पछिल्ला केहि दिन यता संक्रमण ह्वात्तै बढेको छ । दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि कुश्मा नगरपालिकाको कार्यालय र नगरभित्रका सवै विद्यालयहरु एक साताका लागि बन्द गरिएका छन् भने बजार समेत सुनसान बन्दै गएको छ । यसैबीच जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा जटिल रोगीहरुको उपचारको तयारीको बिषयमा प्रतिनिधि सभाका सांसद पदम गिरीले पर्वत अस्पतालको निरीक्षण गर्दै बिरामीको उपचारको तयारीको अबस्था बुझेका छन् । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका प्रमुख डाक्टर तथा ब्यबस्थापन समिति सहितको निरीक्षण पछि सांसद गिरीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै अपुग तयारीको सहयोगका लागि प्रदेश, संघ सरकारमा आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।