पर्वत – पर्वत अस्पतालमा पहिलोपटक बालरोग विशेषज्ञबाट सेवा दिन सुरु भएको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले अनिवार्य रूपमा सेवा गर्नुपर्ने नियमअनुसार बाल रोग विशेषज्ञ डा. कुशल बराल अस्पतालमा आएपछि अस्पताल स्थापनाको स्थापनाको ३२ वर्षमा यो सेवा शुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । ‘अब डा. बरालबाट बालरोगसम्बन्धी उपचार हुने छ । अहिले अस्पतालको व्यवस्थापन राम्रो बनेका कारण पनि विशेषज्ञ चिकित्सकहरू आउने क्रम बढेको पहाडीले बताउनुभयो । बालरोग विशेषज्ञ यहाँ रहनु खुसीको कुरा हो,’ उहाँले भन्नुभयो, ‘यहाँका धेरै बालबालिकाहरूलाई उपचारका लागि पोखरा लैजाने गरिएको थियो। अब त्यो क्रमको पनि अन्त्य भएको छ ।’ नेपाल सरकारले दिने पारिश्रमिक बाहेक अस्पताल व्यवस्थापन समितिको तर्फबाट समेत केही रकम थप गरेर विशेषज्ञ चिकित्सकलाई अस्पतालमा बस्ने वातावरण मिलाइएको अध्यक्ष पहाडीले बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवा थप हुनु र व्यवस्थापकीय पक्ष समेत बलियो बन्दा अस्पतालको आन्तरिक आम्दानीमा समेत बढ्ने भएकाले चिकित्सकका लागि रकम थप गर्न सकिएको उहाँको भनाइ छ । पर्वत जिल्ला सहित बाग्लुङ जिल्लाको दक्षिणी भेगका नागरिक पनि पर्वत अस्पतालको सेवा क्षेत्रभित्र पर्छन् । ती ठाउँका बिरामी बालबालिकाहरूलाई उपचारका लागि सिधै पोखरा लैजाने गरेका थिए । कतिपय निजी मेडिकलहरूले हप्ताको एक दिन पोखरा र काठमाडौंबाट विशेषज्ञ बोलाएर सेवा दिने गरेका थिए । अब भने दैनिक रूपमा सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञबाट बालबालिकाको रोगको निदान हुने भएपछि बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति मिलेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताउनुभयो । २०४६ सालमा स्थापना भएको पर्वत अस्पतालमा अहिले तीनजना कन्सल्टेन्ट चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ । जनरल फिजिसियन डा. डिबी क्षेत्री र हेमन्त बास्तोला रहनुभएको छ छ भने बाल रोग विशेषज्ञमा डा. बराल रहनुभएको छ । जटिल अवस्थाका बिरामीबाहेक अधिकांश बिरामीहरूको उपचार अस्पतालमा नै सम्भव भइरहेको डा. क्षेत्रीले बताउनुभयो । सुत्केरी, हाइड्रोशील, हर्नियाँको समेत शल्यक्रिया सेवा प्रवाह हुँदा पोखरा जाने धेरै बिरामीहरू पर्वत अस्पतालमा नै अडिने गरेको उहाँको भनाइ छ ।