प्रमुख समाचार

राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ–सभामुख अधिकारी

By लोकतन्त्र अनलाईन

March 17, 2021

पर्वत÷गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएकाले राज्यले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको रानीस्वाँरा आधारभूत विद्यालयको भवन उद्घाटन समारोहमा बोल्दै अधिकारीले सो धारणा राख्नुभएको हो । उहाँले सामाजिक सुरक्षा अन्तर्गत शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नगरेसम्म भौतिक विकासले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । अधिकारीले गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्य र सबैले रोजगारी पाउने व्यवस्था नभएसम्म जनताको आधारभूत समस्या हल हुन नसक्ने धारणा राख्नुभयो । ‘सबै बालबालिकाले गुणस्तरिय शिक्षा निशुल्क र सर्वसुलभ रुपमा पाउनुपर्छ’ उहाँले भन्नुभयो । अधिकारीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता सर्वसुलभ हुन जरुरी रहेकाले त्यही अनुरुपका कानून निर्माण गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षा क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा नराखेसम्म समाजवादको लक्ष्यमा पुग्न नसकिने धारणा राख्नुभयो । उहाँले शिक्षामा लगानी बढाउन र जीवनउपयोगी शिक्षा दिने गरि ऐन ल्याउन समेत सुझाव दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता रामशर्मा पौडेल, जिल्ला कार्यान्वयन इकाई (शिक्षा) पूनर्निमाण कार्यालय पर्वतका प्रमुख युक्त प्रसाद शर्मा, कुस्मा नगरपालिका ११ का वडा अध्यक्ष शिब प्रसाद पौडेल, नेकपा एमाले पर्वतका सदस्य खुम प्रसाद सुबेदी, नेकपा माओवादी केन्द्रका डिल्लीराम सुबेदी, समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य सुनिल पौडेल, नेविसंघ पर्वतका सचिब दया सुबेदी, नेकपाका नेता टिकाराम नेपाली लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक सुरेन्द्र पौडेल र संचालन शिक्षक झलक सुबेदीले गर्नुभएको थियो ।

सामुदायिक भवन शिलान्याश पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा सामुदायिक भवनको मंगलबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले शिलान्याश गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकारीले देशमा समृद्धीका लागि सबै क्षेत्रको समानूपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एकात्मक राज्य व्यवस्थाको अन्त्य गरि संघीयतामा गएको अवस्थामा सबै क्षेत्रको विकास भएमा मात्रै संघीयता सफल हुने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य केशब कुँवरले विकास निर्माणको अनुभूति दिलाउन गाउँ गाउँमा जनताले देख्ने र भोग्ने गरि योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उन्नतशिल आम समूहका अध्यक्ष देबी कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत श्याम बहादुर केसी र संचालन भिमनाथ कुँवरले गर्नुभएको थियो । कुल १५ लाख लागतमा सो भवन निर्माणको शुरुआत गरिएको हो । उन्नतशिल आमा समूहको सक्रियतामा थालिएको भवन निर्माणका लागि प्रदेश सभा क्षेत्र विकास कोषबाट ४ लाख ५० हजार रुपीयाँ विनियोजन गरिएको छ भने बाँकी रकम स्थानीय स्रोतका साथै प्रदेश सरकारसँग माग गरिएको समूहका अध्यक्ष गायत्री सुबेदीले बताउनुभयो ।