पर्वतमा नेपाली काँग्रेसको चौधौँ अधिवेशनको चहलपहल बढ्दै, यस्ता छन् उम्मेदवार - News site from Nepal

पर्वत- पर्वतमा नेपाली काँग्रेसको अधिवेशनको चहलपहल बढ्दै गएको छ ।
जिल्ला निर्वाचन आउन एक साता र क्षेत्रीय निर्वाचनको मिति केहि दिन मात्र बाँकी रहँदा चुनावी चहलपहल ह्वात्तै बढेको हो । पर्वतमा काँग्रेसको क्षेत्रीय अधिवेशन मंशिर ३ र जिल्ला अधिवेशन मंशिर ६ गते हुँदैछ । अधिवेशन नजिकिएसँगै काँग्रेसका केन्द्र, प्रदेश, जिल्ला र पालिका तहका नेताहरु सदरमुकाम केन्द्रीत बनेका छन् ।
नेताहरु आगामी नेतृत्वका लागि विभिन्न समुह र उपसमुह बनाएर छलफल समेत गरिरहेका छन् । आगामी अधिवेशनमा नेतृत्व लिने आकांक्षीहरुले उम्मेदवारी घोषणा समेत गरिरहेका छन् । अहिलेसम्म औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा नगरेपनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नेको लर्कोनै लागेको छ ।
पर्वत काँग्रेसको आगामी सभापति पदमा विद्यार्थी नेता मिलन सुवेदी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र अहिलेका उपसभापति दुर्गाबहादुर खत्रीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ भने महाधिवेशन प्रतिनिधि युवराज जोशी, वर्तमान सभापति खिमप्रसाद भुसाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीको पनि सभापतिमा उम्मेदवारी दिने चर्चा चुलिएको छ । यद्यपी उहाँहरुको आधिकारीक रुपमा घोषणा भने भैसकेको छैन ।
नेपाली काँग्रेसका पूर्व सभापति नबराज गुरुङको नेतृत्वमा यामबहादुर मल्ल लगायतको समुह प्रचारप्रसारमै जुटिसकेको छ भने अर्को पक्ष भने अनौपचारिक छलफलमा जुटेको बताईएको छ । अधिवेशन आउन १ सातामात्र बाँकी रहँदा पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुले समुह बनाउन नसकेका हुन् । उनिहरुले आन्तरिक रुपमा तयारी भने तीब्र बनाएका छन् । त्यसैगरी दुई पद हुने जिल्ला सचिबमा ओमप्रसाद घायल, गुप्तनिधि शर्मा, कमल अधिकारी, मोहन आचार्य लगायतले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिलेका सचिब अशोक उच्चै ठकुरीले पनि सचिबमै उम्मेदवारी दिने बुझिएको छ । त्यस्तै प्रदेश सभा क को सभापतिमा कृष्ण केसी, राजकुमार क्षेत्री, भिष्म मल्ल लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने क्षेत्र ख को सभापतिमा प्रविन गुरुङ, हरि न्यौपाने लगायतले उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पनि धमाधम सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्नेको लर्कोनै लागेको छ ।
पर्वत काँग्रेसको राजनीतिमा निणर्ायक भूमिका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको रहन्छ । जोशीको हालसम्म आधिकारिक समुह र विचार सार्वजनिक भैनसकेकाले पनि अधिकांस नेता कार्यकर्ताहरु भने अन्यौलमा देखिएका छन् ।
उम्मेदवारका आकांक्षी नेताहरु विभिन्न होटल, चोक र उम्मेदवारहरुको घरमा निरन्तर छलफलमा सक्रिय बनेको काँग्रेस नेता दया सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!