पर्वत- पर्वतको मोदी गाउँपालिकाका सवै सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान गरिने भएको छ । कोभिड-१९ को महामारीका कारण तत्काल विद्यालय संचालन गर्ने र भौतिक उपस्थितिमा पढाई संचालन गर्न सकिने अवस्था नभएकाले इन्टरनेट जडान गरेर बैकल्पिक माध्यमबाट पठनपाठन संचालन गर्न सहज होस् भनेर इन्टरनेट जडान गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालयलाई इन्टरनेट जडानका लागि गाउँपालिकाले रु १२ हजार रुपैया अनुदान दिने भएको छ । पछिल्लो समय जुम र अनलाईन कक्षा प्रभावकारी बनेको र अहिलेसम्म अधिकांस सामुदायिक विद्यालयमा इन्टरनेटको अभावका कारण संचालन गर्न नसकिएकाले गाउँपालिकाले सवै विद्यालयमा इन्टरनेट जडान गर्न आव्हान गरेको हो । इन्टरनेटको पहुँच विस्तार भएपछि सिकाई सहजीकरणका लागि टेवा पुग्ने क्षेत्रीले बताउनुभयो । पर्वतमा निजि विद्यालयहरुमा जुम मार्फत कक्षा संचालन भएपनि अधिकांस सामुदायिक विद्यालयहरु भने पुणर् रुपमा बन्द नै भएका थिए । इन्टरनेटको पहुँच भएपछि विद्यार्थीहरुलाई कोरोना नियन्त्रणमा नआउने बेला सम्म बैकल्पिक प्रविधिवाट पढाउन सहज हुने मोदी गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमले बताउनुभयो ।