पर्वत- कश्यप गोत्रिय अधिकारी वंस प्रतिष्ठान पर्वतको आयोजनामा बिजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा सहभागिहरुले बिजयादशमी, शुभ दिपावली, छठ लगायतको शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख मुना अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र अधिकारी, अधिकारी वंश प्रतिष्ठानका पूर्व पश्चिमाञ्चल उपाध्यक्ष ख्यामनारायण अधिकारी, इन्जिनियर बैकुण्ठ अधिकारी, उद्योग बाणिज्य संघकी सदस्य देवी अधिकारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय सदस्य गोविन्द अधिकारीले सम्पुणर् देशभरी छरिएर रहेका अधिकारीहरुलाई एउटै मालामा गाँस्दै एकमुष्ट अधिकारी वंश प्रतिष्ठानलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पहिलो संस्करणको अधिकारी वंशावली प्रकाशन भैसकेको र बाँकी छुटफुट भएकालाई दोस्रो संस्करणमा छिटैनै प्रकाशन हुने पुस्तकमा समावेश गरिने बताउनुभयो । अधिकारी वंश प्रतिष्ठान देशभरीकै साझा भएको बताउँदै यसमा कुनै राजनीति र खिचातानी नभएको बताउनुभयो । कार्यक्रम निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मुना अधिकारी, समाजसेवी सरस्वती शर्मा अधिकारी लगायतले बोल्नुभएको थियो । जिल्ला कार्यसमितिका अध्यक्ष चिरञ्जिवि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष देवी अधिकारी र संचालन सचिब राम अधिकारीले गर्नुभएको थियो ।