प्रमुख समाचार

पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीलाई सतप्रतिशत प्रोत्साहन भत्ता दिने

By लोकतन्त्र अनलाईन

June 10, 2021

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निणर्य गरेको छ । कुश्मा नगरपालिकाको बिहीवार बसेको बैठकले फ्रण्टलाईनर स्वास्थ्यकर्मीलाई पाउँदै आएको तलबको शत प्रतिशत र कार्यालयमा रहने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निणर्य गरेको हो । नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख प्रसासकीय अधिकृत कुमानसिँह गुरुङ सहित वडाका अध्यक्षहरु र स्वास्थ्य शाखाका कर्मचारीहरुको बैठकले प्रोत्साहन भत्ता भुक्तानी गर्ने व्यवस्था गरेको हो । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका ईन्चार्जहरुलाई कोभिड फोकल पर्सनको रुपमा तोक्ने पनि निणर्य भएको छ । यस्तै जेठ ३० गते सबै वडामा भेरोसेल खोप लगाउने निणर्य पनि गरिएको छ । सबै १४ वटै वडामा ६४ वर्ष उमेरका व्यक्तिलाई अनिवार्य लगाउने र बाँकी रहेको खोप ६३ र ६२ वर्ष उमेर समूहका व्याक्तिलाई लगाउने निणर्य गरिएको छ । सरकारले कम खोप दिएपछि सबैजसो वडामा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्ति सबैलाई खोप पुग्ने संभावना कम छ । कुश्मा नगरपालिकाका जनप्रतिनिधीहरुले अहिले आएको खोप कम आएको र केहि दिनमा थप खोप आउने भएकाले समस्या बुझिदिन नगरवासीमा अनुरोध गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले सरकारले नै माग भन्दा कम खोप पठाएको हुनाले माग अनुसारको खोपको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बिदेशबाट खोप आउने भएकाले नगरपालिकाले चाहँदैमा सबैलाई खोपको व्यवस्थापन गर्न नसकेको अवगत गराए । स्वास्थ्य शाखाका अनुसार कुश्मा नगरपालिका १ मा ६५, वडा नम्बर २ मा ५७, वडा नम्बर ३ मा ४३ जनालाई खोप लगाईने भएको छ । वडा नम्बर ४ मा ४४, वडा नम्बर ५ मा ६२, वडा नम्बर ६ मा ५७ जनाको लागि खोप उपलब्ध गराईएको छ । वडा नम्बर ७ मा ३५, वडा नम्बर ८ मा ३१, वडा नम्बर ९ मा ३०, वडा नम्बर १० मा ३४ , वडा नम्बर ११ मा ३१, वडा नम्बर १२ मा ३४, वडा नम्बर १३ मा ३० जना र वडा नम्बर १४ मा ३७ जनालाई खोप लगाईने भएको छ । एउटा वडाका व्यक्ति अर्को वडामा गएर खोप लगाउन नपाईने र अर्को पालिकाका व्यक्तिलाई पनि नलगाईने स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए ।