प्रमुख समाचार

पर्वतमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

By लोकतन्त्र अनलाईन

September 09, 2021

पर्वत- ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतले शिक्षा विकास तथा समन्वय समिति पर्वतसँगको सहकार्यमा ‘विपदमा शिक्षाको अधिकार र प्रविधि प्रयोगमा असमानताको सवाल’ विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरी दिवस मनाइएको हो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति रहनुभएका जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले कोभिड १९ का कारणले शैक्षिक क्षेत्र अस्तब्यस्त बनेको र अनलाइन कक्षामा श्रमिक, गरिब, दलित, अपांगता भएका र सिमान्तकृत वर्गका बालबालिका समेट्न नसकिएकोमा चिन्ता ब्यक्त गर्नुभयो । बैकल्पिक शिक्षाका नाममा थालनी गरिएका प्रयासहरुमा विद्यालय उमेरका सबै तह र तप्काका बालबालिकालाई के कसरी समेट्न सकिन्छ भन्ने बारेमा सबै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा पर्याप्त लगानी बृद्धि नगरिनु, सार्वजनिक शिक्षा चासोको विषय बन्न नसक्नु, सबै बालबालिकासँग अनलाइन कक्षामा सहाभागी हुनका लागि भौतिक साधनस्रोतको अभाव हुनु, अभिभावकमा चेतनाको कमी हुनु, विद्युत तथा इन्टरनेटको भरपर्दो आपूर्ति नहुनु र समग्र माहोल नै प्रविधिमैत्री बन्न नसक्नुका कारणले डिजिटल डिभाइडको अवस्था आएको तथ्य औंल्याउँदै तीनै तहका सरकार, अभिभावक, शिक्षक, विद्यार्थीसहित सबै सरोकारवालाहरुको योजनाबद्ध हस्तक्षेपबाट यो अवस्थाको अन्त्य गर्न सकिनेतर्फ ध्यानाकर्षण गर्नुभयो । कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षा विकास तथा समन्वय समिति पर्वतका प्रमुख उद्दिमराज पौडेलले अकस्मात आइलागेको कोभिड १९ को महामारीबाट शिक्षा क्षेत्रमा भएको क्षतीलाई मध्येनजर गरेर आगामी दिनका लागि पर्याप्त पूर्वतयारी गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । यसका लागि जिल्लाभित्र रहेका सबै शैक्षिक सरोकारवालासँग समन्वय र सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । यसैगरी कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत दिपक सुवेदीले महामारीको समयको शिक्षा र शिक्षण सिकाइ क्रियाकलापलाई सुचारु गर्न नगरपालिकाले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुभाषचन्द्र पौडेलले दक्ष, प्रतिबद्ध र जिम्मेवार शिक्षकले नै समग्र शिक्षामा सुधार ल्याउन सक्ने कुरा बताउँदै शिक्षकलाई स्रोतसाधन सम्पन्न र आफ्नो पेशाका प्रति जिम्मेवार बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सार्वजनिक शिक्षा सवलीकरणका लागि राजनैतिक नेतृत्व पनि उत्तिकै जिम्मेवार र जवाफदेही भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द प्रसाद पोखरेलले शिक्षाका प्रति सरकारहरुको उदासिनता र अनुदारताप्रति प्रश्न उठाउनुभयो । २०२८ सालको शिक्षा नीतिबाट परिचालित वर्तमान शिक्षा प्रणालीले कसरी वर्तमानका चुनौतीलाई सामना गर्न सक्छ भन्ने जिज्ञासा राख्दै उहाँले संघीय संरचनामा गएको यतिका समयसम्म पनि संघीय, प्रादेशिक र स्थानीय शिक्षा नीति जारी हुन नसक्नु विडम्बनापूर्ण भएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै आफ्ना विचार राख्नुहुनेहरुमा जिल्ला समन्वय समिति पर्वतका सदस्य कविता विश्कर्मा, नेपाल बाल संगठन पर्वतका सभापती अर्जुन निर्जन पौडेल, नेपाल स्काउट कुश्मा नगर संयोजक इन्द्र प्रसाद शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पस प्राध्यापक इकाइका अध्यक्ष तोयनाथ उपाध्याय, अधिकारकर्मी निर्मल नेपाली, बालमन्दिर प्राविका प्रधानाध्यापक लोकबहादुर राना, शिक्षक केशव पौडेललगायत हुनुहुन्थ्यो । एनसिई नेपालका सदस्य भिमबहादुर नेपालीको स्वागत मन्तब्य, संयोजक यज्ञ प्रसाद शर्माको सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्दिमराज पौडेलले गर्नुभएको थियो ।