प्रमुख समाचार

१९ बर्षे अर्बपतिको सहयोगमा पर्वतको पञ्चकोशी माबिमा छ कोठे बिद्यालय भवन निर्माण

By लोकतन्त्र अनलाईन

September 29, 2020

पर्वत –  आफुँले पढ्न नपाएपनि सानै उमेरमा आर्थिक उर्पाजन गर्न सफल १९ बर्षे अर्बपति इमान गाड्र्जीको सहयोगमा पर्वतको दुरदराजको साुमदायिक बिद्यालयमा छ कोठे भवन निर्माण भएको छ । अर्वपति गाड्जीको नेतृत्वमा रहेको ग्रो योर एजेन्सी मार्फत पाहार ट्रष्ट नेपाल र कुस्मा नगरपालिकाको सहयोगमा कुस्मा नगरपालिका १४ आर्थर स्थित पञ्चकोशी माबिमा झण्डै एक करोडको लागतमा भवन निर्माण भएको हो । बेलायत स्थित ग्रो योर एजेन्सी मार्फत आएको आर्थिक सहयोगमा द पहार ट्रष्ट संस्थाको ८९ लाख र कुस्मा नगरपालिकाको र समुदायको श्रमदान सहित १६ लाख गरि १ करोड ६ लाख रुपैयाको लागतमा भवन निर्माण भएको छ । निर्माण सम्पन्न छ कोठे आइतबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच पहार ट्रष्टका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।

पुरानो संरचना अनुसार बनेको भवन र भूकम्पका कारण भत्किने अवस्थामा रहेको हुनाले दाता खोजेर नयाँ भवन बनाउन थालिएको थियो । कोरोनाको कहरका बिचमा पनि बिद्यालयले समयमा नै भवन सम्पन्न गर्न सकेको र शैक्षिक प्रयोगका लागि बिद्यालयलाई हस्तान्तरण गरिएको पहार ट्रष्ट नेपालका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बताउनुभयो । पहार ट्रष्टको पहलमा ग्रो योर एजेन्सीले भवन निर्माणका लागि सहयोग गरेको बताउँदै भवन निर्माण संगै बिद्यालयको शैक्षिक सुधारका लागि पनि पहार ट्रष्टले सहयोग पु¥याउने बताउनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुृरुङ्गले बिद्यालयमा भवन निर्माण गर्नका लागि वडाले सबैभन्दा ठुलो रकम बिनियोजन गरेको र समयमा काम सम्पन्न गराउन सफल भएकोमा धन्यबाद दिनुभयो । बिद्यालयका लागि भवन बनाउन संस्था र बिद्यालयको बिच पुलको काम गर्नुभएका कादुरी संस्था/द ब्रिटीस गोर्खाजका प्राबिधीक प्रमुख नारायण गुरुङ्गले १४ बर्ष अघि देखिको निरन्तर प्रयास सफल भएकोमा सबैलाई बधाई दिनुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा भएका कार्यक्रममा बिद्यालयका सल्लाहकार मनोज गुरुङ्ग, पहार ट्रष्टका इन्जिनियर टेक राना तथा बिद्यालयका प्रअ प्रकाश सापकोटा, भवन निर्माण समितिका अध्यक्ष रामकृष्ण गुरुङले भवन निर्माणका बिषयमा बोल्नुभएको थियो भने स्वागत शिक्षक रामप्रसाद लामिछाने र सञ्चलान शिक्षक लक्ष्मण शर्माले गर्नुभएको थियो ।

पञ्चकोशी माबिमा शैक्षिक सुधारका लागि बिद्यार्थीलाई वातावरण अनुकुल कक्षा कोठामा अध्यापन गराउने उद्देश्यले यस अघि तत्कालिन शिक्षा कार्यालय पर्वतको सहयोगमा ४ कोठे भवन निर्माण भैसकेको छ भने पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)को सहयोगमा ४ कोठे भवन र शौचालय तथा खानेपानी निर्माणको काम भैरहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताउनुभयो । भवन निर्माण संगै सामुदायिक बिद्यालय भएपनि पञ्चकोशी माबिले ५ कक्षा सम्म मन्टेश्वरी माध्यममा अध्यापन गराउँदै आएको छ भने बिद्यालयमा शैक्षिक सुधारका काम गरिरहेको छ ।