अर्थ/बाणिज्य

पर्वतमा पहिलो पटक लगानी बहस आयोजना, लगानीका क्षेत्रहरु पहिचान गरिने

By लोकतन्त्र अनलाईन

January 29, 2020

पर्वत– पर्वत जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते बिहीबार लगानी बहस कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानीको सुनिश्चिता गर्न बहस कार्यक्रम आयोजना गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, तथा कृषिजन्य उद्योग तथा जलबिद्युतका क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ । लगानी बहस कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैध, पुर्व अध्यक्षहरु बिनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र प्रतिष्ठित ब्यबसायी शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहनुभएका पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो । बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्टेल ढुंगाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइमबिङ्ग, हेलिकप्टर, अल्ट्राईट जस्ता साहसिक पर्यटनका थप पुर्वाधार र होटल रिर्सोटमा लगानी, पर्यटकीय क्षेत्रहरुमा केवलकार बनाउने, लप्सी प्रशोधनका ठुलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलबिद्युत आयोजनाहरुको बिकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ । पर्वत जिल्ला पोखराबाट नजिक रहेको , कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँ नयाँ गन्तब्यको बिकास गर्न सकिने संभावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशलिा क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय संभावना भएकाले साहसिक र धार्मिक पर्यटनको बिकास गर्न सकिन्छ । यस बाहेक लागनीका अध्यक्ष क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासन समेत आउने बिश्वास लिएको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।