प्रमुख समाचार

पोखरामा मगर एकता दिवसः झुटो नबोल्ने मगर समुदायको परिचय

By लोकतन्त्र अनलाईन

February 27, 2020

पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले मगर समुदायले कहिल्यै झुटो नबोल्ने समुदायका रुपमा आफुलाई स्थापित गर्न सफल भएको बताउनुभएको छ । राष्ट्रिय मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले कहिल्यै झुटो नबोल्ने मगर समुदायको परिचय भएको बताउनुभएको हो । “मगर समुदायको मानिसले सधै सत्य बोल्छ,यो गर्छु भनेपछि त्यो पुरा गरेरै छोड्छ,नहुने र नसक्ने कुरा कहिँल्यै गर्छुभन्दै मन्त्री लम्सालले भन्नुभयो,”यो मगर समुदायको बिशेषता हो । मगर समुदायको अनुशासन ,ईमान्दरिता,लगनशिलता र स्वाधिनताको पाठ अन्य समुदायको मानिसहरुले समेत लिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

नेपालको भूमिमा बसोवास गर्ने विभिन्न जातजातिहरू मध्येको एक महत्वपूर्ण जाति मगर रहेको चर्चा गर्दै आफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको अन्य जातिको भन्दा फरक प्रकृति देख्नपाईने बताउनुभयो । मगर समुदायको संस्कृति उद्हारणीय रहेको भन्दै आफनो जातिको संस्कार, संस्कृति जगेर्ना गर्नको लागि तथा आफ्नो पहिचान कायम राख्नको लागि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोडदिनुभयो ।

वहुजातीय, वहुभाषिक, वहुधार्मिक,वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशका सम्पूर्ण जातजातीहरु एउटैमालामा गासिनुपर्नेमा उहाँले जोडदिनुभयो । मन्त्री लम्सालले नेपालका १२५ जातजातीका हरेक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै सांस्कृतिक पर्यटन सँग जोड्दै समृद्ध तथा समुन्नत राष्ट्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । मगर र गुरुङ समुदायको संस्कृति पृथक हुने र यीनै संस्कृतिहरुले पर्यटकको आकर्षण बढाउने गरेको उहाँको भनाइ थियो ।

पर्यटनको सोझो सम्बन्ध प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग हुनेभन्दै पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमा आधारित हुने बताउनुभयो । कुनै पनि देशको पर्यटन विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवं प्राकृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । कार्यक्रममा प्रदेश सभा सदस्य गायत्री गुरुङले आदिवासी जनजातीहरुका माग सम्बोधन तथा उनीहरुका समस्या समाधान गर्न सके मात्र समृद्ध प्रदेश बनाउन सकिने बताउदै आफ्नो पहिचानको रक्षा गर्न जनजातीहरु सक्रियपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।