खेलकुद

पर्वत महोत्सवमा भलिवल प्रतियोगिता जारी आज तीनवटा खेल, दौडको उपाधि आशिषलाई

By लोकतन्त्र अनलाईन

January 26, 2020

पर्वत– पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवमा आयोजित भलिवल प्रतियोगितामा चार वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । अन्तर नगर स्तरिय भलिवल प्रतियोगितामा आज फलेवास नगरपालिका र जलजला गाउँपालिका बिच भएको खेलमा जलजला गाउँपालिका बिजयी भएको छ । पैयुँ गाउँपालिका र जैमिनी नगरपालिका बिचको प्रतिस्पर्धामा जैमिनी नगरपालिका बिजयी भएको छ । आज गल्कोट नगरपालिका र कुश्मा नगरपालिका , विहादी गाउँपालिका र उद्योग वाणिज्य संघ र मोदी गाउँपालिका र कुशमा नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ । ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा आशिष कुँवर पहिलो, प्रताप लम्साल दोस्रो र अविनाश श्रेष्ठ तेस्रो भएका छन् । खुल्ला दौडमा १४ जना सहभागि भएको दौड संयोजक अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।  दौड प्रतियोगिताको कुशमा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सिठी फुकेर उद्घाटन गर्नुभएको थियो ।

भलिबल खेल प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै जोशीले पर्वत महोत्सवले पर्वतको पहिचान बढाउने विश्वास व्यक्त गर्नुभयो । खेलको माध्यमबाट खेलाडीहरुलाई जिल्लाको गरिमा बढाउन र पर्वतको पहिचान राख्ने काममा लाग्न उहाँले सुझाव दिनुभयो । जोशीले पर्वतमा राम्रा राम्रा खेलाडी रहेको र खेलाडी लाई समाज र राष्ट्रले संरक्षण गर्न सक्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जिल्लाको समृद्धि र पहिचानका जिल्लाभरिका सबैले खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ भन्नुभयो । स्वास्थ्य शरिर र दिमागका लागि खेल महत्वपूर्ण हुने जोशीले बताउनुभयो ।