प्रमुख समाचार

पर्वतको कुश्माबजारवाट एकैदिन ठुलो मात्रामा घरेलु मदिरा बरामद गरि नष्ट

By लोकतन्त्र अनलाईन

February 24, 2020

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्माबजारबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । बजार क्षेत्रभित्रै अबैध रुपमा व्यासायिक प्रयोजनका लागि उत्पादन हुँदै आएको गुनासो बढेपछि प्रहरीले आइतवार विहानैदेखि छापा हानेको थियो । कुश्माबजारको वडा नं. ४ र वडा नं. ५ वाट झण्डै आधा दर्जन भन्दा बढि घरवाट ४ हजार ५ सय लिटर मदिरा बरामद गरिएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न क्षेत्रमा अबैध र गुणस्तरहिन घरेलु मदिरा उत्पादन, विक्रि बितरण तथा सेबन गरि दैनिक रुपमा घरायसी झै–झगडा, सवारी दुर्घटना, लैङ्गिक हिँसाका घटना तथा जघन्य प्रकृतिका घटना घटिरहेको साथै छरछिमेकबाट समेत गुनासाहरु बढेपछि प्रहरीले उत्पादन हुने स्थानको खोजी गरेको हो ।

प्रहरीको टोलीले तयारी अवस्थामा रहेको लोकल मदिरा र मदिरा बनाउने कच्चा पदार्थ गरी झण्डै ४ हजार ५०० लिटर र रक्सी बनाउने भाडाहरु बरामद गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । उक्त मदिरा कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालयको प्राङगणमा आइतवारै नष्ट गरिएको थियो । प्रहरीले बजार क्षेत्रमै यसैगरी लुकिछिपी मदिरा उत्पादन गर्नेहरुलाई कडाई गर्ने जनाएको छ भने अन्य स्थानीय तहहरुमा पनि अभियानकै रुपमा मदिरा नष्ट गरिने प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो ।