प्रमुख समाचार

पर्वतको मोदीका बासिन्दालाई युवा सञ्जालले वितरण गर्यो पाँच हजार निःशुल्क मास्क

By लोकतन्त्र अनलाईन

March 23, 2020

पर्वत– सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कामहरु गर्ने उद्धेश्यले पर्वतको मोदी गाउँपालिकामा स्थापना भएको मोदी युवा संजालले गाउँपालिकाका बासिन्दाहरुलाई निशुल्क मास्क वितरण गरेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को संक्रमणबाट विपन्न, गरिब तथा पछाडि परेका बर्गहरुलाई जोगाउनका लागि पाँच हजार भन्दा बढि मास्क वितरण गरिएको हो । मोदी गाउँपालिकाका ८ वटै वडाका बासिन्दाहरुलाई र पातीचौर र डिमुवा बजारमा समेत घर घरमै पुगेर मास्क वितरण गरिएको सञ्जालका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारमा मास्कको अभाव भएको र पाईहालेमा पनि महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता रहेका बेला युवाहरुले आफ्नै लगानीमा मास्क खरिद गरेर वितरण गरेको हो । मास्क लगाएपछि उक्र भाईरसवाट सुरक्षित रहन मद्धत पुग्ने भएकाले पनि अभियानकै रुपमा सवै वडामा वितरण गरिएको उहाँले बताउनुभयो । मास्क वितरण कार्यको शुभारम्भ मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलवाट गरिएको थियो । डिमुवामा आयोजित कार्यक्रममा मास्क लगाउँदै गाउँपालिकाका अध्यक्ष पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोनावाट सवै सुरक्षित रहनका लागि उच्च सतर्कता आवश्यक पर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले पनि हेल्थ डेस्क स्थापना देखि सचेतनाका गतिविधिहरु गर्दै आएको बताउँदै संक्रमण देखिएका बिरामीहरुलाई आवश्यक सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो । उनिहरुले मास्क वितरण सँगै कारोना भाईरस संक्रमणवाट बच्ने उपायका बारेमा सचेतनामुलक पर्चा वितरण गरेका थिए । मृगौलापिडितलाई सहयोग

यसैबीच उक्त सञ्जालले मृगौला पिडित पनि आर्थिक सहयोग गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका मृगौला पिडित बृद्ध रणबहादुर हमालको उपचारका लागि रु २० हजार सहयोग गरेको सञ्जालका सदस्य विशाल महतले जानकारी दिए । पिडितलाई थोरै भएपनि उपचारमा राहत मिलोस भनेर सहयोग गरिएको महतले बताउनुभयो । उक्त रकम पनि मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र महत लगायत सञ्जालका सदस्यहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रमको संचालन क्लवका सचिब मिलन थापाले गर्नुभएको थियो ।