पत्र-पत्रिका

ग्याँस आपूर्ति आजदेखि अझै असहज

By लोकतन्त्र अनलाईन

March 22, 2020

काठमाडौं –  मागभन्दा बढी एलपी ग्याँस ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्याँस उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ ।

ग्याँस पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्याँस पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

सङ्घका अनुसार एलपी ग्याँस मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्याँस नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो ।

उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्याँस मौज्दात राखेको र एउटैले ५० औं सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्याँस नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

भारतबाट जति ग्याँस आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्याँस लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो ।

अध्यक्ष भण्डारीले भने, ‘विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहोर्‍याएर ग्याँस लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्याँस पाउने छन् ।’ गोरखापत्र दैनिकबाट