प्रमुख समाचार

पर्वतमा प्रजातन्त्र दिवसको अवसरमा दुईवटा साहित्यिक कृति विमोचन

By लोकतन्त्र अनलाईन

February 20, 2020

पर्वत – प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् । पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा. षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहित्य’ र साहित्यकार यम ढुङ्गाना केसीको ‘खिचडी’ हाइकूसङ्ग्रह विमोचित भएका हुन् । दुबै कृतिको विमोचन गर्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य बसन्तकुमार कर्माचार्यले नेपाली कला, भाषा र संस्कृति जर्गेनामा नेपाली साहित्य क्षेत्रले अतुलनीय योगदान पु¥याएको बताउँदै विमोचित कृतिले धवलागिरिको वाङ्मय फाँटमा नयाँ इट्टा थपेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि पर्वत साहित्य सङ्गमले सञ्चालन गर्ने साहित्यिक अभियानहरुमा आफूहरुको सक्रिय साथ र सहभागिता रहने प्रतिबद्धता जनाउनुभयो । आफ्नो कृतिको रचना गर्भका बारेमा बोल्दै कृतिकार सह–प्राध्यापक डा. षडानन्द पौड्यालले धवलागिरिका स्रष्टा सर्जकहरुले नेपाली बाङ्मयको सेवामा धेरै काम गरेको भएपनि राष्ट्रिय मूलधारमा सधैं पछाडि परिरहेको देखेर आफूले धेरै मेहेनत गरेर धवलागिरिको नेपाली साहित्यको बारेमा खोजअनुसन्धान गरी पुस्तक तयार गरेको बताउनुभयो । यसैगरी साहित्यकार यम ढुङ्गाना केसीले पनि नेपाली साहित्यका विविध विधामा कलम चलाउने अभ्यास गर्दागर्दै खिचडी हाइकुसङ्ग्रह तयार भएको बताउनुभयो । पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य क्षेत्रलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले आफ्नो संस्थाले यी दुई कृति प्रकाशन गर्ने जमर्को गरेको उल्लेख गर्नुभयो । पर्वत साहित्य सङ्गमले हालसम्म विभिन्न साहित्यकारका ३५ वटा कृति प्रकाशन गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सह–प्राध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेलले समग्र धौलागिरिको साहित्यिक वातावरणको समीक्षा गर्दै विमोचित कृति र कृतिकारका बारेमा संक्षिप्त टिप्पणी गर्नुभएको थियो । विमोचन कार्यक्रममा लक्ष्मीराज शर्मा पौडेल, शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, हिमबहादुर पौडेल क्षेत्री, ओमप्रसाद घायल, सुन्दरप्रसाद जोशी, कुलप्रसाद उपाध्याय, अर्जुन निर्जन पौडेल, सरस्वती शर्मा जिज्ञासु, प्रेम शुशिल गौतम, राजेन्द्र रोका, मिना गुरुङ, सीता पौडेल, गीता अधिकारी, दीपसागर पौडेल, लिलाधर तिवारी, महेन्द्र केसीसहित पर्वतका थुप्रै साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएकाे कृति विमोचन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिआर शर्मा र सञ्चालन सह–सचिव गोकुलप्रसाद शर्माले गर्नुभएको थियो ।