पत्र-पत्रिका

अबदेखि प्रहरीले जागिर छाड्न श्रीमती साक्षी राख्नैपर्ने

By लोकतन्त्र अनलाईन

February 17, 2020

काठमाडौं : पारिश्रमिकले खान नपुग्ने र वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाई हुने भएपछि केही बर्षदेखि सुरक्षाअंगमा कार्यरत युवाहरुले धमाधम जागिर छाडिरहेका छन्। यसो गर्दा राज्यले उनीहरुलाई तालिम दिन र जागिरको बन्दोवस्ती मिलाउन गरेको खर्च अनुत्पादक देखिइरहेको छ।  राजीनामा दिने क्रम बढेपछि नेपाल प्रहरीले चाहिँ यतिखेर नयाँ नियम ल्याएको छ। अब प्रहरीमा काम गर्दागर्दै राजीनामा दिन चाहने व्यक्तिले श्रीमतीलाई साक्षी राख्नुपर्ने भएको छ। राजीनामा दिनेक्रममा स्वीकृतिसहित स्वयं श्रीमतीलाई उपस्थित गराउनुपर्नेछ।  परिवार र श्रीमतीसँग सल्लाह नै नगरी राजीनामा दिँदा कतिपय जवानको घरपरिवार नै अलपत्र पर्ने गरेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालय प्रहरी जवान र हवल्दारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउनुपर्ने र त्यसरी राजीनामा दिँदा श्रीमतीलाई उपस्थित गराउनुपर्ने नियम लागु गरेको हो।  राजीनामा दिएपछि अधिकांश प्रहरी कर्मचारीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन्। सुरक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनीहरुले सेक्युरिटी गार्डमा राम्रो तलबसहित काम गर्ने गरेका छन्।  आर्थिक बर्ष २०७४÷७५ मा २ हजार ५ सय ६४ र आर्थिक बर्ष २०७५/७६ मा ३ हजार ७३ जना प्रहरी कर्मचारीहरुले राजीनामा दिएका छन्। यो आर्थिक बर्ष अर्थात साउनयता पनि १ हजार ५ सय ९२ प्रहरीहरुले राजीनामा बुझाइसकेका छन्।