काँग्रेसको कुश्माबजारमा विरोध प्रदर्शन ः अबको चुनावमा पर्वतमा काँग्रेसलाई जिताएरै छाड्छु ः जोशी - News site from Nepal

पर्वत – सरकारका बिरुद्धमा नेपाली काँग्रेसको पर्वतको आयोजनामा आज कुश्मामा विरोध र्‍याली प्रदर्शन गरिएको छ ।
कुश्माबजारमा गाउँ गाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयबाट सरकार बिरोधी नारा लगाउँदै बजार परिक्रमा गरि शिवालयचोकमा कोणसभा गरिएको थियो । सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले राणा र राजा फालेका जनताले सर्वसत्ताबादी कम्यूनिष्ट सरकारलाई सडकबाटै थुतेर फाल्ने चेतावनी दिनुभएको छ ।
उहाँले जनविरोधी निणर्य गर्दै हिँडेको ओली सरकार नेपाली जनताका लागि अभिषाप भएको बताउँदै जनताले यो सरकार लाई सडक बाटै बिदाई गर्ने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो,‘ हिजो काँग्रेस संग राणा र राजाले निहुँ खोजे । उनीहरुको सासन सकियो । अहिले ओली सरकार काँग्रेस संग निहुँ खोजिरहेको छ । उसको पनि दिनगन्ती शुरु भैसकेको छ ।’ लोकतान्त्रिक चोकमा रहेको राजाको शालिक २०६२/०६३ को जनआन्दोलनमा डोरी लगाएर घिसारेर फालिएको स्मरण गर्दै यो सरकारलाई पनि जनताले घिसारेर फाल्ने बताउनुभएको छ ।


नेता जोशीले सरकारको नेतृत्व गरेको नेकपाभित्र पदको भागवण्डा र शक्तिको संघर्ष चलिरहेका बेला चिनियाँ राजदूत र राष्ट्रपति बिबाद मिलाउन सक्रियता देखाएको बताउँदै नेकपा पार्टी र वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाउनुभयो । पार्टीभित्रको बिबाद मिलाउन नसकेर चिनियाँ राजदूत र राष्ट्रपति गुहार्ने नेकपाले देशको विकास कदापी गर्न नसक्ने जोशीले ठोकुवा गर्नुभयो । उहाँले कम्यूनिष्टहरुको सर्वसत्ताबाद, दमन र झुठको राजनीतिका बिरुद्ध काँग्रेसले पहिलो प्रहार गरेको भन्दै उसका बिरुद्धमा काँग्रेसले अर्को चरणको आन्दोलन गर्ने बताउनुभयो । जोशीले आगामी चुनावमा पर्वतमा जसरीपनि काँग्रेसलाई जिताउने ठोकुवा गर्नुभयो । उहाँले आफु जुनसुकै त्याग गर्न तयार रहेको बताउँदै आगामी चुनावमा पर्वतका सवै क्षेत्रमा काँग्रेसले जित्ने दावी गर्नुभयो ।
तनहुँमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी मंसिर १७ गते भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै जोशीले यो आक्रमण प्रजातन्त्रमार्थीको गम्भिर आक्रमण रहेको बताउनुभयो । यसको बदला लिन काँग्रेस पार्टी हरदम तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संघीय साँसद एवं पूर्व पार्टी सभापती लालकाजी गुरुङले सरकारका एक पछि अर्का जनविरोध निणर्यले देश बर्बादी तर्फ धकेलिएको बताउनुभयो । गुरुङले वर्तमान सरकारले सत्तामा टिक्ने नैतिक आधार गुमाईसकेको बताउनुभयो । पूर्व सभापती नवराज गुरुङले नेकपाको सरकारको सर्वसत्ताबादी उन्मादलाई परास्त गर्न काँग्रेस सदन देखि सडक सम्म दरिलो रुपमा प्रस्तुत भैरहेको र आगामी दिनमा झनै कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
कोणसभामा प्रदेशसभा सदस्य ललितकला गुरुङ, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरुङ, तरुण दलका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरी राज, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुबेदी लगायतले सरकारको विरोधमा आफ्ना धारणा व्यक्त गर्नुभयो ।
जिल्ला सभापती खिमप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला सचिव अशोक उचै ठकुरीले गर्नुभयो भने सञ्चालन सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!