प्रमुख समाचार

पर्वत मिलन महिला समूहद्धारा दृष्टिविहीनहरुका लागि कुर्सी र दैनिक उपभोग्य सामग्री हस्तान्तरण

By लोकतन्त्र अनलाईन

February 14, 2020

पर्वत- पर्वत सदरमुकाम कुश्मामा २०५७ सालदेखि क्रियाशील पर्वत मिलन महिला समूहले दृष्टिविहीन छात्राबासमा बस्ने विद्यार्थीहरुका लागि कुर्सी र दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरेको छ । श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको दृष्टिविहीन छात्राबासमा आयोजित एक समारोहका बीच यी सामग्रीहरु हस्तान्तरण गरिएको हो । पर्वत मिलन महिला समूहमा आबद्ध महिलाहरुले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । महिला समूहले उपलब्ध गराएका सामग्रीहरुमा १८ थान प्लास्टिक कुर्सी, २ बोरा चामल, २० प्याक सेनेटरी प्याड, १२ दर्जन बिस्कुट, ३ प्याक चाउचाउ, कापी कलमसहितका स्टेशनरी सामग्री, ५ दर्जन नुहाउने साबुन, १४ किलो आलु, ४ किलो चिनी, १३ पोका भुजा, ३ पोका खानेतेल, १ क्रेट अण्डा, २ केजी दाल, २ पोका नुन, चियापत्तीलगायतका छन् । महिला समूहले अरु धेरै सहयोग गर्ने सम्भावना रहेकाले निकट भविश्यमा नै थप यस्ता कार्यक्रम राखिने विद्यालयका शिक्षक तथा उत्प्रेरक मिठू गिरीले बताउनुभयो । सामग्री ग्रहण गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले पर्वत मिलन महिला समूहले आफ्नो स्थापना कालदेखि विभिन्न रचनात्मक सामाजिक काम गर्दै आएकोमा यसपटक दृष्टिविहीन भाइबहिनीहरुलाई सामग्री हस्तान्तरण गरेर निकै ठूलो परोपकारी काम गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईले पर्वत मिलन महिला समूहमा आबद्ध भएका मनकारी दिदीबहिनीहरुको सहयोगले दृष्टिविहीन छात्राबासको दैनिक खाँचो टार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्वत मिलन महिला समूहका पूर्व अध्यक्ष बुद्धिकुमारी श्रेष्ठले दृष्टिविहीन छात्रछात्राहरुका लागि सानै भएपनि सहयोग गर्न पाएकोमा आफूहरु धेरै खुशी भएको र आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडी, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीवी अधिकारी, शिवालय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लेखनाथ उपाध्याय, विव्यस सदस्य प्रेमप्रसाद जैशी, शिक्षक इन्द्रप्रसाद शर्मालगायतले पर्वत मिलन महिला समूहले गरेको कार्यको उच्च प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा पर्वत मिलन महिला समूहका पदाधिकारीहरु राजकुमारी श्रेष्ठ, सीता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, बुद्धिकुमारी श्रेष्ठ, रेशमकुमारी नेपाली, सीता शर्मा, ज्ञानु श्रेष्ठ, विष्णु श्रेष्ठ, धनकली श्रीस, अस्मिता श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, सावित्री मलेपती, भिमा श्रेष्ठ, सारदा श्रेष्ठ, जमुना प्रधान, कमला श्रेष्ठ, प्रभा खड्का, गुमा श्रेष्ठ, गुमा नेपाली, देवी श्रेष्ठ, रुविना शर्मा, मिना डङ्गोल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सामग्री हस्तान्तरण समारोहको बीचमा दृष्टिविहीन भाइबहिनीहरुले आ–आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए । छात्राबासमा बस्ने विद्यार्थीहरु र विद्यालयका शिक्षक सिर्जना आचार्य, ढाकाराम पुरी, हरीदत्त शर्मासहितको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता पर्वत महिला समूहका अध्यक्ष राजकुमारी श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव लक्ष्मी श्रेष्ठले गर्नुभएको जानकारी कार्यक्रमका समन्वयकर्ता तथा विद्यालयका शिक्षक मिठू गिरीले दिनुभयो । सहयोग गरिएका सामग्रीहरु पर्वत मिलन महिला समूहमा आबद्ध महिलाहरुले स्वतःस्फुर्त व्यक्तिगत पैसाले खरिद गर्नुभएको हो भने कतिपयले आफ्ना स्वर्गीय स्वजनहरुको स्मृतिमा सामान खरिद गरेर छात्रबासलाई उपलब्ध गराउनुभएको हो । शिवालय माविमा सञ्चालनमा रहेको दृष्टिविहीन छात्राबासमा हाल १८ जना दृष्टिविहीन भाइबहिनीहरु बसिरहनुभएको छ ।