प्रमुख समाचार

सभामुखको टुंगो लागेपछि मात्र उपसभामुखको राजीनामा

By लोकतन्त्र अनलाईन

January 12, 2020

काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामाअघि सभामुखको टुंगो लगाउन नेकपा अध्यक्ष एवम् प्रधानमन्‍त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छन्।

शनिबारको सचिवालय बैठकले उपसभामुख पदबाट राजीनामा दिन निर्देशन दिएपछि रुष्ट बनेकी तुम्बाहाङफेले शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको भेटमा राजीनामा भन्दा पहिला सभामुखको टुंगो लगाउन आग्रह गरेकी हुन्।

शनिबार पार्टी सचिवालयले उपसभामुख पदबाट राजीनामा दिन गरेको निर्देशन अटेर गरेपछि तुम्बाहाङफेलाई आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ‌ओली र प्रचण्डले तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।

बालुवाटारमै बोलाएर उपसभामुखकै कारण संसद बन्धक भएको भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्षले राजीनामा दिन दबाब दिएका हुन्। उता उपसभामुख तुम्बाहाङफेले भने राजीनामा भन्दा पहिला सभामुखको टुंगो लगाउन शीर्ष नेतृत्वलाई आग्रह गरेकी छन्।

‘उपसभामुखले आफ्नो राजीनामा भन्दा पहिला सभामुखको टुंगो लगाउन नेकपा नेतृत्वलाई आग्रह गर्नुभएको छ’, स्रोतले भन्यो, ‘सभामुखको टुंगो लागेपछि राजीनामा दिएर तत्काल निकास दिने उहाँको तयारी छ।’

बालुवाटारबाट फर्किए लगत्तै उपसभामुख तुम्बाहाङफेले माघ ६ गतेसम्ममा निकास दिने तर त्यसअघि नै सभामुखको टुंगो नेतृत्वले लगाउनुपर्ने अडान दोहोर्याएकी हुन्।

स‌ंसदको हिउँदै अधिवेशन पुस ४ गते प्रारम्भ भए पनि सभामुखको टुंगो नलाग्दा संसद नियमित बिजनेसमा प्रवेश गर्न पाएको छैन। पुस ११ र १६ गते बोलाइएका बैठक पनि सभामुखको टुंगो नलाग्दा  स्थगित भएका थिए।

हिउँदे अधिवेशन सुरु भएपछि आइतबार तेस्रो पटक सूचना टाँसेर बैठक स्थगीत भएको हो। अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ। सभामुखको विषय टुंगो नलाग्दा संसद बैठक शृङ्खलाबद्ध ढंगले स्थगित भएको हो।

उपसभामुखको राजीनामा नआउँदा सभामुखको निर्वाचन कार्यक्रम अघि बढाउन पनि संसद् सचिवालयलाई अप्ठ्यारो भएको छ। राजीनामा नआएसम्म ज्येष्ठ सदस्यलाई सभामुखको रुपमा चयन गर्ने प्रक्रिया पनि अघि बढ्न सकेको छैन।

सभामुख चयनमा सहमति जुटाउन पटकपटक बैठक स्थगित गर्नु परेको संसद सचिवालयको भनाइ छ। उपसभामुखले राजीनामा दिए निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यले सभामुखको रुपमा सभा संचालन गर्नेछन्। प्रतिनिधिसभामा ज्येष्ठ सदस्य महन्थ ठाकुर छन्।

पुस ११ गते उपसभामुख शिवामाया तुम्बाहाङ्फेले राजीनामा दिने, ज्येष्ठ सदस्यलाई सभामुखको रुपमा चयन गरेर पुस १२ गतेको बैठक स‌ंचालन गर्ने र त्यही बैठक सभामुख निर्वाचनको कार्यक्रम पेस गर्ने तयारी थियो। पुस १४ गते सभामुख निर्वाचन गर्ने योजनासहित स‌ंसद सचिवलायले निर्वाचन कार्यक्रम र मिति घोषण गर्ने संभावित कार्यसूची तयार गरिएको थियो। तर अचानक राजीनामा रोकिएपछि संसद स्थगित गरिएको थियो।

पुसको पहिलो हप्ता नै राजीनामा दिन तयार भइसकेकी तुम्बाहाङ्फे अचानक युटर्न भएपछि सभामुख चयनको किचलोले नयाँ मोड लिएको थियो। राष्ट्रपति विद्या भण्डारीबाट ग्रिन सिग्‍नल पाएपछि उपसभामुख तुम्बाहाङ्फे राजीनामा नदिने र आफू नै सक्षम रहेको बताएकी थिइन्।

नेकपाभित्र पूर्व एमाले पक्ष पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छ। उता पूर्वमाओवादीले भने  तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएपछि रिक्त रहेको पद आफ्नो भागमा परेकोले अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएको छ। पूर्वमाओवादी पक्षबाट सापकोटासँगै सभामुखको दौडमा देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा छ।