प्रमुख समाचार

पर्वतमा एसईई परिक्षा दिने विद्यार्थीलाई रेडियोवाट ट्युसन कक्षा शुरु

By लोकतन्त्र अनलाईन

May 10, 2020

पर्वत– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण डेढ महिना भन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्यौलमा परेको (एसईई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीहरुलाइ सहयोग गर्न पर्वतमा रेडियोवाट ट्युसन पढाउन शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिकाले गत चैत्र ६ गते देखि सुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइइ स्थगित भएर घरमै वसीरहेका विद्यार्थीहरुलाइ पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सन्चालन गरेको हो । लक डाउनको समयलाइ सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफ.एम, रेडियो शालिग्राम र रेडियो कुशुमवाट प्रत्येक दिन अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सन्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सवै ठाँउमा नपुगेकाले रेडियो मार्फत कक्षा संचालन गरिएको नगरपालिकाले जनाएको छ । विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियो मार्फत एसइइ दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो टयुसन कक्षा सन्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । लामो समय परीक्षा स्थगित हुँदा र घरमा वस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीहरुलाइ व्यस्त राख्न र उनीहरुको सृजनात्मक विकास तथा पुर्नताजकीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियो मार्फत ट्युसन पढाइ कार्यक्रम सुरु गरिएको जोशीले बताउनुभयो । नगरपालिकाको सहयोगमा रेडियो मार्फत पढाउने कार्यक्रम बुधवार सम्झौता भई शुक्रवारवाट सुरु भएको हो । पएक महिनासम्म संचालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई÷दुई जना शिक्षकले सहजीकरण गर्नुहुने भएको छ । प्रत्येक विषयका लागि हरेक दिन एक घन्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीहरुले रेडियो सेटको नजिकै पुर्ण तयारीका साथ कापीकलम र किताव लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले यसका लागि सवै अभिभावक सरोकारवाला र विद्यार्थीहरुलाइ सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ । पञ्चासे एफ.एम वाट विहान ९ बजेदेखि अंग्रेजी विषयको कक्षा संचालन हुने छ भने रेडियो शालिग्रामवाट विहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुने छ । त्यसैगरी रेडियो कुशुमवाट विहान ७ बजे विज्ञान विषयको कक्षा संचालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । प्रविधिको सदुपयोग मार्फत विद्यार्थीहरुको सिकाइमा सहयोग पु¥याउन सन्चालन गरिएको रेडियो ट्युसन कार्यक्रम अन्तरगत हप्तामा दुई दिन विषयगत रुपमा प्रश्नोत्तर कार्यक्रम सन्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले विषयगत शिक्षकलाइ आफुले नवुझेका र नजानेका प्रश्नहरु सोध्न सक्ने छन् भने शिक्षकले रेडियो वाटै जवाफ दिनु पर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ ।