गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौं ः मुख्यमन्त्री गुरुङ - News site from Nepal

बेनी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको जग बसाउन आवश्यक ऐन, कानुनको निर्माण थालिएको बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले प्रदेश समन्वय परिषदको हालसम्म तीनवटा वैठक बसिसकेको बताउँदै कानुन तर्जुमा गर्नका लागि सहजीकरण समिति बनाइएको बताउनुभयो ।

उहाँले प्रदेशभित्र विकास निर्माणको आधार निर्माण गर्न विभिन्न पहलहरु भैरहेको बताउँदै प्रदेशको विकासका लागि सडक, कृषि, पर्यटन, जलविद्युत र खानेपानीलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा अझै पनि ९ प्रतिशत घरधुरी विद्युत सेवाबाट बञ्चित रहेको भन्दै उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत तत्कालका लागि सोलार प्यानल जडान गरेरै भए पनि विद्युतीय सेवा उपलब्ध गराइने बताउनुभएको छ ।प्रदेश प्रहरी ऐन बनाउनका लागि जनतासँग सुझाव माग गरिने बताउँदै मुख्यमन्त्री गुरुङले विदेशी सहयोग र लगानी भिœयाउन आवश्यक नीति, ऐन निर्माण गरी सार्वजनिक, निजी क्षेत्र र सहकारी मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो ।

उहाँले गण्डकी प्रदेशमा आवश्यक जनशक्तिको विकास र उत्पादन गर्न प्रदेश विकास प्रतिष्ठान बनाइने बताउँदै विकास निर्माणलाई जोड दिन मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश विकास समस्या समाधान समिति बनाइने बताउनुभयो ।

विकासे योजनाहरुको कार्यान्वयन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) गर्नका लागि प्रदेश र स्थानीय तहमा वन तथा वातावरण ऐन निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजनाको खाका बनाइएको बताउँदै संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने योजनाको वर्गीकरण गरेर अगाडि बढेमा डुब्लिकेसन नहुने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी र मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने जानकारी दिँदै मुस्ताङ जिल्लामा हाई अल्टिच्युडको रङ्गशाला निर्माण गरिने जानकारी समेत दिनुभयो ।

संघ, प्रदेश र स्थानीय तहको सहभागितामा रङ्गशाला निर्माण गरिने भन्दै उहाँले रङ्गशाला निर्माणका लागि सम्बन्धित स्थानीय तहले डिपिआर तयार गरेर पठाउनुपर्ने बताउनुभएको छ । स्थानीय तहले योजना निर्माण गर्ने क्रममा संघ र प्रदेश सरकारले बनाएको योजनालाई हेरेर बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।राष्ट्रिय अर्थतन्त्रका हिसाबले गतवर्ष अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताउँदै मुख्यमन्त्री गुरुङले यसवर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर पु¥याइने लक्ष्य लिइएको बताउनुभयो ।

उहाँले हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ४१ डलर रहेको भन्दै १५ सय ४० डलर पु¥याउनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा अहिले ७२ वर्ष औषत आयु रहेकोमा ७५ वर्ष पु¥याइने बताउँदै त्यसका लागि प्रदेशभित्र क्यान्सर, मुटु, बालरोग नियन्त्रणका लागि अस्पतालहरु निर्माण गरिने बताउनुभयो । उहाँले विशेष सहयोगमार्फत जिल्ला अस्पतालहरुलाई ३३ करोड रुपैयाँ पठाइएको बताउनुभयो ।कार्यक्रममा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा,संविधानसभाका सदस्य रेशम बानियाँ,नवराज पौडेल,प्रदेश सांसद विनोद केसी,बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ,नेपाली काँगेसका उपसभापति माधवप्रसाद रेग्मी,प्रजिअ ज्ञाननाथ ढकाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिसस प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस सदस्य शेरबहादुर केसीले स्वागत गर्नुभएको थियो भने जिसस अधिकारी ज्ञानराज कोइराला कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयको एक करोड ४२ लाख र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ हजारसहित कुल तीन करोड ३० लाख ८६ हजार रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!