प्रमुख समाचार

पर्वत प्रहरीद्धारा ठगी र खरखजानामा संलग्न पाँच जना समातिए

By लोकतन्त्र अनलाईन

November 02, 2020

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले हातहतियार खरखजानामा दुई र ठगीमा संलग्न तीन गरी पाँच जनालाई पक्राउ गरेको छ।

प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार हातहतियार खरखजाना आरोपमा समातिनेमा महाशीला गाउँपालिका–५ का ४२ वर्षीय ओमबहादुर मल्ल र ३३ वर्षीय वीरबहादुर गुरुङ रहेका छन्।

हतियारसहित घुमिरहेको भन्ने सूचना पाएको प्रहरीले उनीहरूलाई दुई थान भरुवा बन्दुक, पाँच सय ४० ग्राम बारुद र तीन सय २४ ग्राम सिसाको छर्रा सहित नियन्त्रणमा लिएको हो। कात्तिक आठ गते पक्राउ परेका उनीहरूलाई कात्तिक १६ गते जिल्ला अदालत पर्वतमा पेस गरेर अनुसन्धान भइरहेको छ।

यस्तै, ठगीको आरोपमा जलजला गाउँपालिका–७ का ३३ वर्षीय होमनाथ जैसी, २४ वर्षीय सरोज शर्मा र बागलुङको बरेङ गाउँपालिका–२ का २३ वर्षीय प्रदीप रिजाल पक्राउ परेका छन्।

उनीहरूले भारतमा ओरियन्स कम्पनीबाट उत्पादित हर्बल सामग्रीहरू नेपालमा ल्याई विभिन्न व्यक्तिहरूलाई त्यसको सदस्यता प्रदान गरी पिरामिडमा आधारित व्यवसाय सञ्चालन गरेको पाइएको प्रहरीले बताएको छ। गत कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट ठगीको आरोपमा पक्राउ परेका उनीहरूलाई कात्तिक ७ गते पर्वत प्रहरीले बुझेर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका तीनै जनाको मुद्रालाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम कारबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंमा पठाइएको छ। पर्वत प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई जिल्ला अदालत पर्वतमा ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।