खेलकुद

पर्वत महोत्सवमा संचालित प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई

By लोकतन्त्र अनलाईन

February 02, 2020

पर्वत– पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिवल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । गलकोट नगरपालिकाको तर्फवाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड निर्माण सेवाबीच भएको फाईनल प्रतिस्पर्धामा ३–१ को सेटमा गलकोटले उपाधि हात पारेको हो । गलकोटले पहिलो र दोस्रो सेट लगातार २५–१९ र २५–१७ को अन्तरले जितेको थियो भने तेस्रो सेट जैमिनिले २५–१९को अन्तरमा गलकोटलाई पराजित गरेको थियो । तेस्रो सेट जैमिनीले जितेपछि आक्रामक बनेको गलकोटले पुनः चौथो सेटमा २५–१७ को अन्तरमा पछि पारेसँगै गलकोट उपाधि जित्न सफल भएको हो । उपाधि विजेता गलकोटले रु. १ लाख ४४ हजार ४ सय ४४ रुपैया शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको जैमिनिको हिल साईड निर्माण सेवाले रु. ७७ हजार ७ सय ७७ रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा महाशीला गाउँपालिका र मोदी गाउँपालिकाले सान्त्वना स्थान हात पारेका छन् । दुवै समुहलाई २२ हजार २ सय २२ रुपैयाका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका गरी १३ समुहले भाग लिएका थिए । बिजयी समुहलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अन्तिम दिन आईतवार पुरस्कार वितरण गर्नुभएको हो ।