समाचार

पर्वतको कुश्मामा यसरी मनाईयो तमु ल्होसार

By लोकतन्त्र अनलाईन

December 31, 2019

पर्वत– तमुहरुको महान पर्व तमु ल्होसारको अवसरमा मोलीकाली बुद्ध सेवा समाज पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आनन्द गुम्वाको प्राङ्गगणमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले यस्ता चाड पर्व र संस्कृतिहरु हाम्रा अमुल्य सम्पत्ती र पहिचान भएको बताउनुभयो । उहाँले तमु ल्होसारको अवसरमा सम्पुर्ण गुरुङ समुदायलाई शुभकामना दिँदै उक्त समुदायको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख जोशीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न भौतिक विकासमा जोड दिईएको बताउँदै नगरपालिकालाई अघि बढाउन सवैको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्यले सवै जातजाती, धर्म पेशा समुदायको संरक्षण र सम्वद्र्धनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । मोदीकाली बुद्ध सेवा समाजका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उर्मिला गुरुङ र संचालन सचिब विपिन गुरुङले गर्नुभएको थियो । सो अवसरमा गुरुङ समुदायको मौलीक भाका आशिमाला लगायतका भाकामा नाचगान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा तारो हान्ने प्रतियोगिता पनि गरिएको थियो । मोदीकाली बुद्ध सेवा समाजले वर्षेनी तमु ल्होसारको अवसरमा रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।