पर्वत / उमेरले झण्डै असी पुग्न लागेका बृद्धबृद्धाहरुलाई पर्वतको कुस्मा नगरपालिका वडा नं १४ ले लौरी र कम्बल उपहार बाँडेको छ ।
वडा कार्यालयले ८० बर्षको आसपास उमेर पुगेका बृद्धहरुलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको हो । वडा कार्यालयले बिक्रम सम्बत १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना बृद्धबृद्धालाई सम्मान गरेको छ ।
वडा कार्यालयमा आइतबार आयोजित समारोहका बिच बृद्धबृद्धाहरुलाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीले लौरी र कम्बल उपहारको रुपमा बितरण गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीले बुढेसकालका लागि भनेर लौरी दिदा बृद्धबृद्धाहरु खुसीले मुस्कुराउनुभो । ‘बृद्धलाई अपमान होइन सम्मान गनुपर्छ भन्ने सन्देश सम्मान कार्यक्रमले दिएको छ’ , सहायक प्रजिअ सुबेदीले भन्नुभयो ‘हरेक जेष्ठ नागरिक हाम्रो सम्पति भएकाले उनीहरुको सम्मान र संरक्षण गर्नु राज्यका हरेक निकायको समेत कर्तब्य हो । ’
बुढेसकालमा परिवारका सदस्यबाट समेत अपहेलित हुनुपर्ने पिडा धेरै बृद्धबृद्धाहरुको छ । वडामा आफुँले दिएको मतबाट निर्वाचित जनप्रतिनिधीले कम्मल र लठ्ठी सहित सम्मानित गर्न खुसी भएको प्रतिकृया दिनुभयो । वडा कार्यालये सम्मान गर्दा धेरै खुसी लागेको बृद्ध नरबहादुर क्षेत्रीले बताउनुभयो । ‘हामीलाई सम्झेर लौरी र कम्मल दिएको छ’ उहाँले भन्नुभयो ‘हिडडुल गर्न र जाडो हुँदा दुबै काम लाग्ने सामान दियो।’
वडा कार्यालयले हरेक बर्ष बृद्धबृद्धाहरुलाई सम्मान गर्दै आएको छ । यस पटक लौरी र कम्मल दिएर सम्मानित गरिएको वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो । बुढेकालको सहारा लौरी हो र जाडोबाट बचाउन कम्मल उपयोगी छ । उहाँले भन्नुभयो । हरेक बर्ष बढी उमेरका बृद्धबाट क्रमशः कम उमेरका बृद्धहरुलाई सम्मानित गर्दै जाने योजना रहेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । वडा कार्यालयमा आयोजित कार्यक्रममा ३५ जनालाई सम्मानित गरिएको छ भने पोखरामा बसोबास गर्नेहरुलाई पोखरामा नै कार्यक्रम गरेर सम्मानित गर्ने कार्यक्रम रहेको छ । सम्मान कार्यक्रममा वडा सदस्य होमनाथ रिमाल र वडा सचिब दिपक सुबेदीले पनि बोल्नुभएको थियो ।






