मुख्य समाचार

कांग्रेसको माग सम्बोधन, सरकारले दुवै अस्पताल संघमा ल्यायो

By लोकतन्त्र अनलाईन

January 29, 2019

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ । 

स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारमातहत ल्याउने निर्णय गरेको हो । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि सरकारले यस्तो निर्णय गरेको हो । 

दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । तर सरकारले भने अस्पताल विघटन नभइ स्थानीय र प्रदेश सरकारमातहत राखेर चलाउन खोजिएको स्पष्टिकरण दिएको थियो । 

‘कांग्रेसको माग अनुसार दुईवटा अस्पताललाई संघ मातहत ल्याउने निर्णय सोमबारको क्याबिनेटले गरेको छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले दुवै अस्पताललाई व्यवस्थित बनाऊँ भन्दा कांग्रेसले जस्तो छ त्यही हालतमा संघमा ल्याउनैपर्ने अडान राखेपछि यस्तो निर्णय भएको हो । 

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै छ । सरकारले यी दुवै अस्पताल संघमा ल्याउन पूर्वाधार र आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएको थियो । तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै भएको बताउँदै यसलाई स्थानीय तहबाटै चलाउने योजना गरिएको सरकारले जनाएको थियो । 

तर अन्य नौवटा अस्पताल संघमा ल्याएको सरकारले आफ्ना नेताका नामका दुई अस्पताल विघटन गर्ने उद्धेश्यले केन्द्रीय सरकारमातहत नल्याएको आरोप कांग्रेसले लगाउँदै आएको छ ।