पर्वत– पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी सहरी विकास योजना तथा विपद व्यवस्थापन रोकथाम लगायतका विषयमा अध्ययन गर्नका लागि चीनमा रहनुभएको छ । चीनमा भएको विकास र विपद् व्यवस्थापन बारे अध्ययनका लागि उहाँ ८ दिनसम्म चीनको युनान प्रान्तको कुन्मिन क्षेत्रमा रहनुहुने भएको हो । दैनिक ६ घन्टाका दरले ८ दिनसम्म अध्ययन गर्नका लागि नेपालबाट उहाँ सहितको टोली गएको हो । चीनबाट लोकतन्त्र अनलाईनसँग कुरा गर्दै उपप्रमुख अधिकारीले चीनमा भएको विकासको मोडेल नेपालका तीनवटै तहका सरकारले लागु गर्न सकेमा मात्र नेपालको विकास द्रत गतिमा हुने बताउनुभयो । उहाँले आफुले त्यहाँ पुगेर अध्ययन गर्ने क्रममा विकासका धेरै आयामहरु र विपद् व्यवस्थापनमा आफ्नो नगरपालिकालाई सक्रिय बनाउने योजना रहेको बताउनुभयो । नेपाल सरकार र नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा आयोजना गरिएको उक्त अध्ययन कार्यक्रमका लागि नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु, बुढानिलकण्ठ, बुटवल, पोखरा, मेची, खादवारी, दमक, जिरी, भीमदत्त, धरान, हरिवन, तुलसिपुर, विरेन्द्रनगर र निजगढका मेयर र केही नगरपालिकाको तर्फबाट उपमेयर सहभागी भएका हुन् । आधुनिक चीनको विकास, आर्थिक र व्यापार विकास, विश्व बजारीकरणमा आधारित चिनियाँ कानूनी पद्दती, गरिबी निवारण, विपद् व्यवस्थापन र रोकथाम, चिनियाँ सहरी विकास योजना र सरकारी प्रयोग लगायतका विषमा आफुहरुलाई दैनिक प्रध्यापकहरुवाट अध्यापन गराईएको उहाँले जानकारी सदनुभयो । यो अध्ययनले चीनको विकास, समृद्धि, चिनियाँ अर्थतन्त्रबारे जाकारी लिन सहयोग पुग्ने उहाँको विश्वास छ । अध्ययन पछि चिनले गरेको विकासको मोडललाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी लिन सहयोग पुग्ने उहाँले बताउनुभयो ।