प्रमुख समाचार

पर्वतको भुकमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने– ‘राजनीति हैन काममा प्रतिस्पर्धा गरौ’

By लोकतन्त्र अनलाईन

December 28, 2019

पर्वत— राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अब राजनीतिक रुपमा प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्ले स्थित नवज्योति थम माविको चार कोठे नवनिर्मित भवनको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणमा राजनीति नगर्न आग्रह गर्नुभयो । भौतिक पुर्वाधारका योजनाहरुमा यो दल उ दल भन्न नहुने बताउँदै राज्यको बजेट सवै ठाउँमा समान ढंगले परिचालित गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हुने भन्दै अन्य समयमा आ–आफ्नो ठाउँका गुणस्तरीय विकास गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कुनैपनि जनप्रतिनिधिले आफ्नो सेवामा विभेद गर्न नहुने बताउनुभयो । संविधान निर्माण पछि तीनै तहमा सरकारहरु बनेको बताउँदै तिमिल्सिनाले यस्तो अवस्थामा कुनैपनि ठाउँ र कोहि पनि नागरिक राज्यको सेवावाट बञ्चित हुन नहुने बताउनुभयो । उहाँले तीनै तहको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिंचाईका पूर्वाधार बन्नुपर्ने बताउँदै अब नागरिकहरु राज्यको सेवा सुविधाबाट बञ्चित भए भन्ने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताउनुभयो । बहुमत प्राप्त अहिलेको सरकार मुलुक र नागरिक प्रति सचेत रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब नागरिकहरु मतदान गरेको दलले विकास निर्माण गरेन कि भनेर पछुताउनु पर्ने अवस्था नआउने बतानउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सवै तहको ध्यान जानु उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले पर्वतको शैक्षिक सुधारका निम्ति तिनै तहका सरकार जिम्मेवार हिसावले अघि बढेको बताउँदै अब सामुदायिक शिक्षा पनि प्रतिस्पर्धि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षाको विकासका लागि प्रदेश सरकारवाट आवश्व सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बी पौडेल, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपप्रमुख सेती महत, पुर्ननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख युक्तप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रअ मिन कुमारी गुरुङ, र संचालन शिक्षक जगत मल्लले गर्नुभएको थियो ।