पर्वत- सगरमाथा आरोहण गरेर फर्केका पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई गाउँमा सम्मान गरिएकोछ ।
गाउँबाटै पहिलो पटक सगरमाथाको शिरमा पाइलो राखेको भन्दै जनता सुर्दशन भूतपुर्ब बिद्यार्थी समाजले एक कार्यक्रमका बिच सापकोटालाई सम्मान गरेका हुन । जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका सापकोटा पर्वतबाट सगरमाथामा पुग्ने संभवत पहिलो ब्यक्ति हुन ।
सगरमाथा आरोही सापकोटालाई कुस्मा नगरपालिका वडा नं १२ का अध्यक्ष राजेन्द्र पौडेलले दोसल्ला ओढाएर सम्मान गरेका हुन । ‘पहिलोपटक आफ्नो गाउँको युवाले सगरमाथाको चुचुरोमा पाईला टेक्न सफल भएकोमा हामी खुसीले गद्गद भएका छौ’ अध्यक्ष पौडेलले भने ‘सगरमाथा चढ्ने साहस हुने युवाहरु रहेकाले समाजमा सकारात्मक परिर्वतन गर्न यसले प्रेरित गरेको छ ’
सापकोटा एशियन टे«किङ एजेन्सी मार्फत आरोहणका लागि गएका थिए । उनी चैत २२ गते काठमाण्डौबाट वेसक्याम्प तर्फ गएका थिए । झण्डै दुई महिनाको अवधिसम्म विभिन्न तालिम तथा अभ्यासहरु गरेपछि जेठ ९ गते विहान सवा ५ बजे चुचुरोमा पुग्न सफल भएको सापकोटाले बताए । ‘गाउँबासीको माया र प्रेरणाकै कारण यो सफलता प्राप्त भएको हो’ , उनले भने ‘अझै सफल बन्नका लागि आत्मबिश्वास बढेको छ।’ सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा फहराउँदा जीवनमा सवैभन्दा ठुलो आनन्द र सन्तुष्टी प्राप्त भएको सापकोटाले बताए –‘माईनस ६० डिग्री तापक्रममा जाँदा निकै कठिन हुँदो रहेछ, जब चुचुरोमा पुगेपछि जीवनको सवैभन्दा ठुलो सफलता प्राप्त गरेजस्तो अनुभुति भएको छ ।’ विश्वकै अग्लो सगरमाथाको उचाईमा पुग्ने आफ्नो सानैदेखिको इच्छा र चाहना ३० वर्षको उमेरमा आएर पुरा भएको उनले सुनाए ।
जनता सुर्दशन भुतपुर्ब बिद्यार्थी समाजका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सचिब बिष्णुबहादुर बिकले गरेका थिए ।
समाप्त






