काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरेका छन् ।संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृह मन्त्री थापाले कानून मिचेकाले, गैरकानूनी काम गरेका कारण उनीहरुलाई कानूनी दायरामा ल्याउनेर वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने काम गरिरहेको दाबी गरे । संसदमा मन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमामा ४ वटा कम्पनी दर्ता गरेर अवाञ्छित गतिबिधि गरिरहेको जानकारी सरकारले पाएको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल भइरहेको समेत जानकारी दिएका छन् ।उनले भने,‘ नेकपा विप्लव भनिने समुहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौँ । उनीहरुलाई मूलधारमा ल्याउन, उनीहरुका गतिबिधिहरु नियन्त्रण गर्न राज्य प्रयाससरत छ ।’संसदमा गृहमन्त्री बम विस्फोटका क्रममा मारिनेहरु जनता नभएको भनेपछि संसदमा सांसदहरुले त्यसप्रति आपत्ति प्रकट गरेका छन् । कांग्रेस सांसद देवेन्द्रराज कँडेलले मन्त्री थापाले भनेको नागरिक हैनन् भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे । जवाफमा सभामुख कृष्णबहादुर महराले संसदको ध्यानाकर्षण भएको बताए । संसदमा समसामयिक विषयमाथि बोल्ने क्रममा मन्त्री थापाले हिजो विभिन्न स्थानमा भएका बम विस्फोटमा ज्यान गुमाएका मानिस सामान्य नागरिक नभएको बताएका थिए ।