प्रमुख समाचार

पर्वतको लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशिलाको विकास यसरी गरिँदै , ७५ लाख रुपैया खर्च गरिँदै

By लोकतन्त्र अनलाईन

May 27, 2019

पर्वत–पर्वत जिल्लाको महाशिला गाउँपालिका स्थित लुंखुदेउरालीमा रहेको ऐशियाकै ठुलो महाशिला (मेहलढुङ्गा) पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्धेश्यले पूर्वाधार निर्माणको काम शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख रुपैया र महाशीला गाउँपालिकाको रु २५ लाख रुपैया गरी रु ७५ लाखको लागतमा विभिन्न संरचना निर्माण गर्न थालिएको हो । प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको महाशीलाको विकासका लागि गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखिनै बजेट बिनीयोजन गरेर संरक्षण र प्रवद्र्धनको काम गर्दै आएका थिए । पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपुर्ण मानिएको महाशीलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचार प्रसार हुन सकेको थिएन । हाल उक्त रकमले भगवान शिवको मन्दिर, १० दशमलब ८ फिटको ढुंठाको मुर्ति र १ सय ८ फिट अग्लो महाशीलालाई कुँदेरै भगवान शिवको मुर्ति तथा शौचालय निर्माण लगायतका पूर्वाधार निर्माणको काम भैरहेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै सवै संरचना निर्माण गर्नेगरी अहिले काम धमाधम भैरहेको छ । महाशीलामा निर्माण हुन लागेको भगवान शिवको मन्दिरको आईतवार शिलन्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले मन्दिरको शिलन्यास गरेका हुन् । सो अवसरमा बोल्दै महाशीला गाउँपालिकाको अस्तित्वसँग गाँसिएको यस क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सक्रिय भएर लाग्ने बताए । यस शीलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्न सकेमा महाशीलाको आर्थिक विकासले फड्को मार्ने उनको भनाई छ ।

कार्यक्रममा प्रवक्ता उच्चैले महाशीलालाई जिल्लाकै मुख्य गन्तव्यको रुपमा विकास गर्नेगरी काम भैरहेको बताए । उनले अहिले बन्दै गरेका संरचनाहरुको निर्माण पश्चात हिन्दुहरुको महत्वपुर्ण गन्तव्य बन्ने बताउँदै यसको विकासका लागि गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको बताए । एक दशक पहिले सम्म महासिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वहरुमा मेला लाग्ने गर्दथ्यो तर पछिल्लो समयमा वुढापाकाको मृत्यु हुँदै जानु र युवाहरु पलायन हुनुले ढुङ्गाको प्रचार प्रसार हुन सकेको छैन् । सदरमुकाम कुश्मावजारवाट करिव ४० किलोमीटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठुलो ढुङ्गालाई स्थानीयस्तरमा मेहलढुङ्गा भनिन्छ । विश्वकै ठुलो महासिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा भित्रिने आन्तरीक तगा वाह्य पर्यटकहरु त्यहाँ जाने गरेका छन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटकहरु आउने गर्दछन् । स्थानीयबासीहरु भन्छन महासिला (ढुङ्गा) एकपटक हिडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्छ रे । एकपटक घुम्दा १० मिनेट भन्दा वढि समय लाग्ने स्थानीवासीहरु वताउँछन् । बाबुबाजेका पालामा पुजारीहरु वसेर पुजापाठ गर्ने गरेपनि अहिले यस्तो प्रचलन हटेको स्थानीयको भनाई छ । यहाँ बालाचतुर्दशी, शिवरात्री, रामनवमी, अक्षयतृतिया लगायतका चाडपर्वहरुमा मेला लाग्ने स्थानीय सरस्वती अधिकारीले बताईन ।