CPN-UML candidate Prithvi Subba Gurung poses for a photograph after winning State Assemblies seat from Lamjung (B), on Monday, February 12, 2018. Photo: Ramji Rana

प्रमुख समाचार

म्याग्दी पुगेर मुख्यमन्त्री गुरुङले भने -‘जीवनस्तर सुधारमा प्रदेश सरकारको प्राथमिकता’

By लोकतन्त्र अनलाईन

January 27, 2019

म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ । स्थानीय मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ भन्नुभयो । ‘‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृिद्ध गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, “खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आम नागरिकको पहुँच वृद्धिमा जोड दिएका छौँ ।” मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो । सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । सो अवसरमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धि, पर्यटन विकासमा जोड दिएको बताउनुभयो । धौलागिरि गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातांै अग्लो धौलागिरि, गुर्जालगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धौलागिरि गाउँपालिकाको सडक, विद्युत्, भवन, शिक्षा, सञ्चारलगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भए पनि धौलागिरि गाउँपालिका पर्यटन, जलविद्युत्, जडीबुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानून छिटो बनाउन प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आए पनि सरुवा भएर जाने समस्या धौलागिरि गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताउनुभयो ।