पत्र-पत्रिका

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु , ४० जना बेपत्ता

By लोकतन्त्र अनलाईन

July 26, 2019

काठमाण्डाै – मनसुनपछिको विपद्का कारण देशभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।ज्यान गुमाउनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस्तै, पहिरोबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाण्डाै, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीनर/तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा ७ र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई/दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाण्डाै, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक/एक जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठ/आठ तथा काठमाण्डाै, सिराहा र रौतहटमा पाँच/पाँच जना घाइते भएका छन् । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक/एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई/दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन् ।