प्रमुख समाचार

पर्वतको मुडिकुवामा विद्यालय सुदृढिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न

By लोकतन्त्र अनलाईन

June 26, 2019

पर्वत- फलेवास नगरपालिका वडा नं. ४ मा रहेको गहते अम्बोट आधारभूत विद्यालयका सरोकारवालाहरुका बीचमा विद्यालय सुदृढीकरणसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्टिय अभियान नेपाल (एनसिई पर्वत) ले विद्यालयसँग सहकार्य गरी आयोजना गरेको सो कार्यक्रममा गुणस्तरीय शिक्षाका आधारहरु, बालमैत्री शिक्षण प्रविधि, विद्यालय व्यवस्थापन समितिको भूमिका, शिक्षक अभिभावक संघको क्रियाशीलता, शिक्षक तथा अभिभावकको भूमिकालगायतका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा एनसिई नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले विषयगत प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो भने एनसिई पर्वतका सदस्य–सचिव यज्ञप्रसाद शर्माले एनसिई नेपालका बारेमा र अभियन्ता दीपेन्द्र लम्सालले बालमनोविज्ञानमा आधारित शैक्षिक पद्दतिका बारेमा चर्चा गर्नुभएको थियो ।विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने शिक्षक मोतीप्रसाद चुवाईले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक रमेश शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित अभिभावक, विव्यस पदाधिकारी र शिक्षकहरुका बीचमा आ–आफ्नो भूमिकाका बारेमा सघन छलफल भै आगामी दिनका लागि कार्यदिशा निर्धारण गरिएको थियो ।