बेनी- म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन रुम डाडाँ गाउँ र रुम अभिधराका जगत पुन पक्राउ पर्नुभएको छ ।पुन जिल्ला जनपरिषद प्रमुख समेत हुनुहून्छ । यसै गरी युवक संगठन सदस्य रमेश पुन दरबाङ बजारबाट पक्राउ पर्नुभएको नेकपा म्याग्दीका इन्चार्ज गमबहादुर श्रीसमगरले जानकारी दिनुभयो ।राजनीतिक आस्थाका आधारमा गिरफतारीमा परेका आफ्ना कार्यकर्ताको विना सर्त रिहाई गर्नुपर्ने इन्चार्ज श्रीसमगरले माग गर्नुभयो । ‘संविधानले दिएको राजनीतिक अधिकारलाई बर्तमान सरकारले कुण्ठीत गर्न खोजेकाले यसको डटेर प्रतिरोध गरिने छ ’ – उहाँले भन्नुभयो ।पक्राउ परेका तिनै जनालाई सोमबार नै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताउनुभयो । जिल्लामा विप्लव समुहका नेता तथा कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ।