काठमाडौँ — सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ । अश्लील तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरूले ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रूपान्तरण भएका छन् ।यिनमा धेरैजसो पीडित १८ वर्षमुनिका देखिन्छन् । यस्तो अवस्थामा प्रहरीले गत भदौ १ देखि लागू फौजदारी अपराध संहिताको व्याख्याअनुसार थप सजाय गर्ने गरेको देखिन्छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुर खण्डमा अठार वर्षमाथिकी महिलामाथि जबर्जस्ती करणी भए पीडकलाई सातदेखि दस वर्षसम्म र पीडित १८ वर्षभन्दा कम भए १० देखि १२ वर्षसम्म सजायको व्यवस्था छ ।प्रहरी परिसर काठमाडौंमा दर्ता साइबर अपराधसम्बन्धी तथ्यांक केलाउँदा यस्तो प्रवृत्ति भुसको आगोजसरी सल्किरहेको देखिन्छ । २०७२/७३ मा ३२ वटा र २०७३/७४ मा साइबर अपराधका २५ वटा उजुरी दर्ता भएका थिए । यिनको संख्या २०७४/७५ मा दोब्बरभन्दा धेरै अर्थात् ८१ पुगेको छ । यस आर्थिक वर्षको पुससम्म ७४ उजुरी परेका छन् । वर्षको अन्त्यसम्म पुग्दा यो आँकडाले अघिल्लो वर्षलाई उछिन्ने प्रहरी परिसर काठमाडौंका अधिकारीहरू सहजै अनुमान गर्छन् ।प्रहरी परिसर काठमाडौंले मंसिर २८ गते टेकुबाट एक किशोरीलाई पक्राउ गर्यो । १७ वर्ष ५ महिना २० दिन उमेरकी नाबालिका भएकाले प्रहरीले ती किशोरीको नाम कोड भाषामा २६ परिसर (य) दिएको छ । घटना अनुसन्धान गर्दै जाँदा जे देखियो, त्यसले अधिकारीहरूलाई नै झस्काइदियो । किशोरीको बयानबाट कसरी आवेगको निर्णयले उनलाई प्रहरी कार्यालयसम्म ल्याइदियो र आफ्नै उमेरकी केटीसाथीको जिन्दगी समस्यामा पारिदियो भन्ने खुल्यो ।काठमाडौंको एक कलेजमा प्लस टु पढ्दै गरेका एक युवकले प्रवेश क्षेत्री नामको फेसबुक एकाउन्टबाट एक किशोरीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । किशोरीले स्वीकारी पनि हालिन् । फेसबुकमै संवाद सुरु भयो । संवादको धागो मित्रता हुँदै प्रेमसम्म पुग्यो उनीहरूले एक दिन सहमतिमै सुन्धारास्थित एक होटलमा यौनसम्बन्ध राखे । यही क्रममा केटाले गोप्य रूपमा यौनसम्बन्धका तस्बिरहरू खिचेको किशोरीलाई पत्तै थिएन । समयक्रममा उनीहरूको सम्बन्ध टुट्यो । यससँगै किशोरीका निम्ति हैरानीको शृंखला सुरु भयो । प्रवेशले एक दिन किशोरीसँगको यौनसम्बन्धकोतस्बिर र भिडियो आफ्नी केटी साथीलाई मोबाइल एप्लिकेसन इमोमा पठाइदिए । ख्यालख्यालमै ती केटीले रोजी श्रेष्ठ नामबाट फेसबुक एकाउन्ट खोलेर ती तस्बिर र भिडियो किशोरीका बाबु र उसका नजिकका साथीहरूको मेसेन्जरमा पठाइदिइन् । प्रहरीले ती केटीलाई २६ परिसर (य) नाम दिएको छ ।यो कुराले किशोरीलाई ठूलो मानसिक तनाब दियो । साथीभाइ र परिवार सदस्यको आडभरोसापछि उनले मंसिर २० गते प्रहरी परिसर काठमाडौंमा उजुरी दिइन् । लगत्तै प्रहरीले ती केटीलाई पक्राउ गर्यो । प्रहरीले उनलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ (१) अनुसार कारबाही तयारी गरेको थियो । तर उमेर १८ नपुगेको पुष्टि भएपछि बाल अश्लीलता रोक्न बनेको बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ४ को दफा ३६ बमोजिम अनुसन्धान अगाडि बढायो ।किशोरीको भिडियो र तस्बिर खिच्ने युवक भने फरार छन् । तनहुँ स्थायी घर भएका उनको नाम प्रदीप भएको खुल्यो । यस्ता घटनामा १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी बढी संलग्न रहेको प्रहरी भनाइ छ । १२ पुसमा प्रहरीमा दर्ता अर्को घटना पनि फरक छैन । कक्षा ११ मा पढ्ने एक किशोरीले दर्ता गरेको उक्त उजुरीमा सामाजिक सञ्जालबाट झ्याँगिएको उनको सम्बन्ध अपराधसम्म पुगेको देखिन्छ । गत जेठमा उनलाई विमल राउत नामको फेसबुक एकाउन्टबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । यहाँ पनि सिलसिला प्रेमसम्मै पुग्यो । असारमा किशोरीले आफ्नै गाउँ मकवानपुरको पालुङमा विमललाई भेटिन् ।एक दिन विमलले उनलाई पालुङको शिखरकोट बोलाए । त्यही भेटमा नजिकै जंगलमा सहमतिमै शारीरिक सम्बन्ध भयो । उनीहरू झन् अन्तरंग हुँदै गए । भिडियो कलमा कुराकानी भइरहँदा एक दिन विमलले किशोरीलाई कपडा खोलेर गोप्य अंग देखाउन आग्रह गरे । किशोरीले त्यसै गरिन् । अब विमल त्यही भिडियोको हतियार बनाएर किशोरीलाई बारम्बार त्यस्तै हर्कत दोहोर्याउन दबाब दिन थाले ।यौनशोषणसमेत गरिरहे । महिनौं लामो अत्यासपछि किशोरी आजित भइन् । विमलको आग्रह इन्कार गरिन् । टाढा बस्न थालिन् । यही झोकमा विमलले भिडियो र फोटो किशोरीकी दिदी र आफन्तको फेसबुकमा पठाइदिए ।किशोरीको यो विवरणसहितको उजुरीपछि प्रहरीले पुस १३ गते कागेश्वरी मनोहरा–९ वीरेन्द्रचोक बस्ने विमललाई पक्राउ गर्यो । उनले किशोरीको अर्कैसँग प्रेमसम्बन्ध रहेको शंका लागेको र त्यसबारे सोध्दा उत्तर नदिएको झोंकमा भिडियो अरूलाई पठाएको बयान दिएका छन् ।प्रहरी अधिकारीका अनुसार सामाजिक सञ्जालबाट सम्बन्ध गाँस्ने र सहमतिमा गरिएको यौन गतिविधिको फोटो–भिडियो बनाई सम्बन्ध टुटेपछि पनि यौनशोषण गर्न खोज्ने प्रवृत्ति देखिन्छ । पीडित किशोरीले साइबर अपराधअन्तर्गत कारबाही माग गरेकी छन् । यसमा १८ वर्षमुनिकी किशोरीसँग सहमतिमै यौनसम्बन्ध राखे पनि फौजदारी कानुनको परिभाषामा बलात्कार हुने उल्लेख छ । त्यसैले प्रहरीले बलात्कार मुद्दासमेत चलाउने प्रक्रिया अगाडि बढाएको छ ।परिसरको मुद्दा शाखाका डीएसपी मोहनकुमार थापा पछिल्ला महिना १८ वर्षभन्दा मुनिका किशोरकिशोरीको प्रेमसम्बन्ध र यौनशोषणका घटना प्रहरीमा धेरै आउने गरेको सुनाउँछन् । ‘प्लस टु पुस्ताका किशोरकिशोरीमा यस्तो समस्या भुसको आगोझैं सल्किँदै छ,’ उनले भने । परिसरमा मंसिर ३ गते भक्तपुरको सूर्यविनायक–१ स्थित स्कुलमा दस कक्षामा पढ्ने एक किशोरीले उजुरी दर्ता गरिन् ।स्कुलमा भएको एक फुटबल प्रतियोगितामा उनको चिनजानसुवास थापासँग भएको थियो । त्यही चिनजान मोबाइलमार्फत झाँगिँदै प्रेमसम्बन्धमा पुग्यो । किशोरी सुवासको घरसमेत जान थालिन् । कोही नभएको मौका छोपी सुवासले उनीसँग यौनसम्बन्ध राखे ।यही सम्बन्धपछि सुवासले किशोरीलाई धम्क्याउन थाले । उजुरीमा उल्लेख छ, ‘यौनसम्बन्धबारे कसैलाई भने राम्रो हुन्न, तेरो ज्यानसमेत रहन्न भन्दै धम्की दिइरह्यो । यौनसम्बन्धको अश्लील भिडियो खिचेको छु, मैले भनेजस्तो गरिनस् भने पब्लिक गर्दिन्छु भन्दै डर देखाइरह्यो ।’जब किशोरी सुवाससँग टाढा हुन थालिन्, झन् धेरै मानसिक यातना खेप्न थालिन् । एक दिन उनका प्रधानाध्यापकको फेसबुक म्यासेन्जरमा उक्त भिडियो आइपुग्यो । किशोरीले भिडियो सुवास र उसको साथी पुकार राउत मिलेर प्रअलाई पठाएको उल्लेख गरेकी छन् । प्रहरीले मंसिर १७ गते ललितपुरको इमाडोलबाट सुवासलाई पक्राउ गर्यो । सुवासले किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको दाबी गर्दै आफू शौचालय गएका बेला साथी पुकारले भिडियो आफ्नो मोबाइलमा सारी साथी र प्रधानाध्यापकलाई पठाएको बताएका छन् । यो घटनामा पनि प्रहरीले किशोरीको उमेर १८ वर्षभन्दा कम भएकाले पीडकमाथि जर्बजस्ती करणीमा समेत मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको छ ।ललितपुर जिल्ला अदालतको बाल–इजलासमा कार्यरत मनोविद् सुनील अधिकारीको बुझाइमा सामूहिक पारिवारिक संरचनाको विखण्डन र एकल परिवार संरचनामा हुर्किरहेका किशोरकिशोरीमा यस्तो समस्या विकराल बन्दै छ । ‘बाबुआमाले समय नदिएका कारण पनि किशोरकिशोरी सामाजिक सञ्जालमा बढी झुम्मिने गरेका छन् ।भर्चुअल संसारकोशक्ति थाहा पाएकैले उनीहरूमध्येकेही आफ्नो यौनसम्बन्ध टिकाउन परिवारले नसोचेको हर्कत गर्न पुग्छन्,’ उनले भने ।मनोविद् नगेन्द्र ठगुन्नको मत पनि फरक छैन । उनले सामाजिक सञ्जाललाई हतियार बनाउँदै हुने यौनशोषणका घटनालाई इन्टरनेटको दुरुपयोग बताए । ‘जोखिम मोल्ने र नयां कुराप्रति अति नै आशक्ति राख्ने स्वभावका किशोरकिशोरीले सामाजिक सञ्जालको दुरुपयोग गर्नु नौलो होइन,’ उनले भने । नगेन्द्रको बुझाइमा किशोर उमेरमा विकास हुने हर्मोन र त्यसले उनीहरूमा ल्याएको परिवर्तन नबुझेका अभिभावका कारण पनि यस्ता घटना बढ्न थालेका छन् ।उनले यौन–खुल्दुलीबारे चुपचाप बस्न रुचाउने समाज, व्यस्त बाबुआमा र इमेल–इन्टरनेट प्रयोगमाथि निगरानी नहुनुलाई पनि कारण औंल्याए । भने, ‘टिनएजमा हुने हर्मोनको परिवर्तनले उनीहरूलाई जिद्दीवाल, जिज्ञासु र जोखिम मोल्ने बनाइदिएको हुन्छ । यसबारे अभिभावक सचेत नभएसम्म यस्ता घटना दोहोरिरहन सक्छन् ।’
विवाहित पनि फन्दामासाइबर अपराधसँग जोडिएका यौनशोषणका यस्ता मुद्दाले किशोरकिशोरी मात्रै नभई विवाहित महिला पनि पासोमा परेको देखाउँछ । नक्सालकी एक यादव थरकी महिला अपरिचित फेसबुके साथी राजीवकुमार कर्णको जोडबलमा उनलाई भेट्न पशुपति पुगिन् । राजीवले उनलाई एक्कासि अँगालो हाले र फोटो पनि खिच्न भ्याइहाले ।विवाहित राजीवले यही फोटो सार्वजनिक गरिदिने र वैवाहिक सम्बन्ध बिगारिदिने भन्दै महिलालाई धम्क्याउन थाले । डरैडरमा उनी सबै कुरा मान्न थालिन् । राजीवकै करकापमा आफ्नो नग्न फोटो खिचेर पठाइदिइन् । हैरानी सकिनु साटो झन् थपियो । अब राजीव तिनै तस्बिरलाई हतियार बनाएर यौनशोषण गर्न थाले । यसैगरी हप्ता, महिना बिते । अति भएपछि महिलाले उनका कुरा टेर्न छाडिन् । राजीवले उनका नग्न तस्बिर सामाजिक सञ्जालमा राखे । उनले हटाउन अनुरोध गरिन् । बदलामा राजीवले १२ हजार मागे । उनले भनेजस्तै गरिन् तर पनि राजीवले तस्बिर हटाएनन् ।एक दिन आयो, उनीसँगको यौनसम्बन्धको कुरा श्रीमान् र छोराले समेत थाहा पाए । बल्ल महिला उजुरी लिएर महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्, श्रीमान्ले सघाए । महाशाखाले जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा राजीवलाई पक्राउ गर्यो । पीडित महिलाले राजीवविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही माग गरे पनि प्रहरीले करकापमा पारेर यौनसम्बन्ध राखेको देखिएको भन्दै जबर्जस्ती करणीमा समेत मुद्दा चलाएको छ ।यस्तै समस्या झापाकी अर्की एक विवाहित युवती पनि भोग्न बाध्य भइन् । पति काठमाडौंमा व्यापार गरेर बस्ने भएकाले उनी घरमा एक्लै थिइन् । त्यही बेला देवर घरमा आउँथे र उनीसँग जबर्जस्ती गर्थे । त्यतिसम्म त उनले सहेकै थिइन् । देवरले अश्लील तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भन्दै यौनसम्बन्धको प्रस्ताव राखेपछि झनै डराइन् । उनी काठमाडौं आएर श्रीमान्सँग बस्न थालिन् । देवर पनि काठमाडौं आए र गत जेठ १४ गते श्रीमान् नभएको बेला पारेर जबर्जस्ती गर्न खोजे ।युवतीको जाहेरीमा उल्लेख छ, ‘जबर्जस्ती करणी गर्न खोजेपछि म भागें तर त्यसपछि उनले अश्लील फोटो सार्वजनिक गर्ने र श्रीमान् र छोरालाई मारिदिने धम्की दिए ।’ यही घटनापछि युवती श्रीमानको सहयोगमा प्रहरीमा पुगिन् । युवकले आफूले अश्लील तस्बिरहरू सामाजिक सञ्जालबाट पठाएको तर जबर्जस्ती करणी प्रयास नगरेको बताएका छन् ।यो घटनामा पनि प्रहरीले जबर्जस्ती करणीको महल र विद्युतीय कारोबार ऐन दुवैमा मुद्दा चलाएको छ । डीएसपी थापा सम्बन्ध सहज हुन्जेल घटना बाहिर नआउने र सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाललाई हतियार बनाउँदै जबर्जस्ती गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जालको हतियार देखाएर जबर्जस्ती करणी गर्ने घटनामाथि गम्भीर अनुसन्धान त जरुरी छ नै, यसबारे थप सामाजिक बहसको आवश्यकता छ,’उनले भने । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार