पत्र-पत्रिका

दुई नागरिकता बनाएर कृषि बैंकबाट ३४ करोड ठगी

By लोकतन्त्र अनलाईन

November 26, 2019

 काठमाडौं : कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने। त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए। आफ्नै बैंकमा त्यस नाममा खाता खोले। विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले। एक–दुई हजार, लाख होइन…, करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ। यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले। जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो। अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन्। गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। गौतमको फर्जी कारोबार र रकम हिनामिनाबारे चुपचाप बसेकाले स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ। गौतम र बानियाँ दुवैलाई १० वर्ष कैद माग गरिएको समचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। गौतमले आफ्नो नक्कली नाम तेजबहादुरको खातामा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) दुरुपयोग गरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ। गौतम नक्कली नामबाट नागरिकता र राहदानी बनाएर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेका थिए। उनलाई भारतको सिलिगुढीबाट पक्राउ गरिएको थियो। उनी पुर्पक्षका लागि थुनामा छन्। गौतमविरुद्ध अख्तियारले योजनाबद्ध ढंगबाट बैंकिङ प्रणालीको पासवर्ड चोरी गरी बैंकिङ सिस्टम दुरुपयोग गर्दै रकम हिनामिना गरेको र बैंकलाई नोक्सान पु‍र्‍याएको अभियोग लगाएको छ। शाखा अधिकृत गौतमसमेतले ०७१ असोजदेखि ०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानि पुर्‍याएको अख्तियारको दाबी छ। बानियाँले शाखा प्रबन्धकका हैसियतले रेमिट्यान्सलगायत आर्थिक कारोबार, कर्मचारी रेखदेख र नियन्त्रण, व्यवस्थापन र अभिलेख जाँच र दायित्व वहन नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। बैंकको रकमबाट गाडीसमेत किनेका थिए।